विराटनगर, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिदैँछन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा (एमाले)का ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले आफ्ना सबै २९ सांसदलाई कार्कीको पक्षमा मत हाल्न पत्राचार गरेको छ ।
एमालेका ३९ सांसदले पनि कार्कीको पक्षमा मत हाल्ने एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए । माओवादी केन्द्रले पनि मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको प्रदेश कमिटीले कार्कीको पक्षमा मत दिने निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । माओवादी केन्द्रसँग १३ सांसद छन् ।
नेकपा (एकीकृत समाजवादी)ले पनि कार्कीलाई मत दिने भएको छ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले आफ्नो पार्टीका ४ सांसदले कार्कीको पक्षमा मत दिने निर्णय गरेको बताएका छन् ।
राप्रपाले भने कार्कीलाई मत नदिने भएको छ । यसअघि नै बसेको राप्रपाको बैठकले कोशी सरकारबारे तटस्थ बस्ने निर्णय गरिसकेको छ । कोशीमा राप्रपाका ६ प्रदेश सांसद छन् ।
यसैगरी, एकजना प्रदेश सांसद भएको जसपाले पनि विश्वासको मत नदिने भएको छ । राप्रपा र जसपाले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कार्कीले प्रदेश सभाका ९३ मध्ये ८५ सांसदको विश्वास छ भन्ने मत प्राप्त गर्नेछन् ।