
- अर्घाखाँचीको अन्नपूर्ण माविमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ।
- विद्यार्थीहरूले टमाटर खेतीमार्फत कृषि, बजारीकरण र आम्दानीको व्यावहारिक सीप सिकिरहेका छन्।
- यस कार्यले विद्यार्थीमा उद्यमशीलता बढाउनुका साथै विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै छ।
हृदय भुसाल अर्घाखाँची।
पढाइलाई व्यवहारसँग जोड्दै विद्यार्थीलाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै रमाउदै कार्यक्रम’ अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा प्रभावकारी बन्दै गएको छ।
भूमिकास्थान नगरपालिकाको सहयोगमा गत वर्षदेखि सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत विद्यालयले टमाटर खेतीलाई प्राथमिकतामा राखेर व्यावसायिक कृषि अभ्यास सञ्चालन गर्दै आएको छ। विद्यालयको खेलमैदान परिसरमा निर्माण गरिएको प्लास्टिक टनेलभित्र गरिएको टमाटर खेतीमा अहिले लटरम्म फल लागेका छन्। हरियाली बिरुवामा झुन्डिएका टमाटरले विद्यालयको कृषि अभ्यासलाई थप आकर्षक बनाउनुका साथै उत्पादन र आम्दानीको सम्भावनासमेत देखाएको छ।
विद्यालयले गत वर्ष टमाटर खेतीबाट करिब ६० हजार रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष पनि टमाटर उत्पादन सुरु भएसँगै बिक्रीबाट आम्दानी हुन थालेको विद्यालयले जनाएको छ। उत्पादित टमाटर बिक्रीबाट प्राप्त रकमको छुट्टै हिसाब किताब राखी जम्मा गर्ने व्यवस्था मिलाइएको छ। यसले विद्यालयको कृषि कार्यक्रमलाई व्यवस्थित र उत्पादनमुखी बनाएको छ।
टमाटर खेतीसँगै विद्यालयले गोभीका बिरुवा उत्पादन तथा बिक्री गर्ने कामसमेत गर्दै आएको छ। यसबाट विद्यार्थीलाई खेतीपातीमा मात्र नभई कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन र आम्दानीको हिसाबकिताब राख्नेसम्मका व्यावहारिक ज्ञान तथा सीप सिकाउने प्रयास गरिएको छ।
विद्यालयका प्रधानाध्यापक सुबासचन्द्र बन्जाडेका अनुसार भूमिकास्थान नगरपालिकाको सहयोगमा गत वर्षदेखि कार्यक्रमलाई अगाडि बढाइएको हो। गत वर्ष टमाटर खेतीबाट ६० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष पनि आम्दानी सुरु भइसकेको उहाँले बताउनुभयो। विद्यार्थीलाई पढाइसँगै कृषि उत्पादन, बजारीकरण र आत्मनिर्भरताका लागि अभिप्रेरित गर्नुका साथै विद्यालयलाई समेत आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।
विद्यालय परिसरमै सञ्चालन गरिएको यो कृषि अभ्यास विद्यार्थीका लागि सिकाइको प्रयोगशाला बनेको छ। विद्यार्थीले प्रत्यक्ष रूपमा खेती गर्ने, उत्पादनको हेरचाह गर्ने, बजारमा बिक्री गर्ने र त्यसबाट प्राप्त आम्दानीको महत्त्व बुझ्ने अवसर पाएका छन्। यसले श्रमप्रति सम्मान, कृषि कर्मप्रतिको आकर्षण र भविष्यमा आफैँ उद्यम सञ्चालन गर्न सक्ने आत्मविश्वास विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
शिक्षालाई उत्पादन र आम्दानीसँग जोड्न सके विद्यालय तहदेखि नै उद्यमशील सोचको विकास गर्न सकिन्छ भन्ने उदाहरण अन्नपूर्ण माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ। पढाइसँगै कमाइ, सीपसँगै आत्मनिर्भरता र शिक्षासँगै उत्पादनलाई जोड्ने विद्यालयको यो प्रयास ग्रामीण क्षेत्रको शैक्षिक विकास तथा कृषि उद्यमशीलताका लागि अनुकरणीय बन्दै गएको छ।


























