
अर्घाखाँची । अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा उम्मेद्धारी दिएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आसन्न निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्धार बनेका नेता केसीले बहुमतको जनमत दिंदापनि सत्ता चलाउन असफल भएको आरोप लगाउँदै पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने धारणा व्यक्त गरे ।
गठबन्धन अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको ७ र ८ का बिभिन्न टोलमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले यस्तो बताएका हुन् । अहिले एमालेबाट अर्घाखाँचीमा उम्मेद्धार बनेकाहरुलाई आफुहरुले समेत भोट हालेको ब्रिफ्रिङ्ग गर्दै नेता केसीले उनिहरुले समेत मतको दुरुपयोग गरेको उनको आरोप छ । आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने उनले बताए । आफ्नो राजनितिक जिवन जनता र देशको हितमा समर्पित गरेको दाबी गर्दै नेता केसीले यो चुनावमा जनताले आफु र गठबन्धनलाई भोट दिन आतुर रहेको जिकिर समेत गरे ।
अर्घाखँँचीका जनता खास विकासको पर्खाइमा रहेको भन्दै नेता केसीले गठबन्धनको जितपछि जिल्लाको समग्र विकासको सुरुवात हुने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल, माओवादी केन्द्रका प्रदेश सदस्य जंग बहादुर परियार, अखिल छैठौं केन्द्रिय अध्यक्ष देबेन्द कुँवर, सदस्य टेकराज भुसाल, राजमो छत्रदेव अध्यक्ष खिमनारायण पाण्डे लगायतले सहजीकरण गरेका थिए ।