१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

जनताको समस्या हल गर्ने पार्टी माओवादी मात्र होः बामदेब क्षेत्री

Workplace

यतिबेला नेकपा माओवादी केन्द्रको तिन महिने रुपानतरण अभियान सुरु भएको छ । “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने नारासहित यतिबेला माओवादी नेता कार्यकता जनताको घरदैलोमा पुगेका छन् । हिजो माओवादीले गरेको १० वर्षे जनयुद्ध पश्चात देशको व्यवस्था परिवर्तन भएको छ तर जनताको अवस्था भने त्यस्तै दयानीय छ । जनयुद्धका बेला जनतामाझ माओवादीले देखाएका ति तमाम सपना, आशाहरु पुरा हुन सकेनन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनर संसद प्रवेश गरेको माओवादी आज २०७९ को निर्वाचन सम्म आइपुग्दा ३२ सिटमा खुम्चिन परेको छ । आखिर माओवादीको यो अवथा किन आयो ?, माओवादीले जनतालाई देखाएका सपना किन पुरा गर्न सकेन ?, रुपान्तरण अभियानको कारण के ? रुपान्तरण पछि के बन्ला त देशको पहिलो पार्टी माओवादी ? यी र यस्तै जिग्यासाको उत्तरको लागि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तिन महिने रुपान्तरण अभियानका अर्घाखाँची जिल्ला ईन्चार्ज बामदेब क्षेत्री सँग सहकर्मी नविन रसाईलीले गर्नुभएको कुराकानीको अंशः

स्वागत छ बामदेब ज्यु
धन्यवाद नविन जी

यतिबेला माओवादी केन्द्र रुपान्तरण अभियानमा लागेको छ, रुपान्तरण अभियान किन ?
हामी तिन महिने अभियानमा “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने नारासहित आएका छौं । यस अघि पाँच दिनसम्म बसेको माओवादीको केन्द्रिय समितिको बैठकमा आएको रिपोर्ट अनुसार एकपटक माओवादी जनतामाझ जानुपर्छ भन्ने निष्कर्ष पार्टीले निकाल्यो । माओवादी केही बिग्रीएको छ, केहि समस्याहरु छन्, जनताका माओवादी प्रति गुनासाहरु छन्, ति गुनासाहरु जनताकै बिचमा गएर सुन्नुपर्छ भन्ने पार्टीले निर्णय ग¥यो त्यसपछि हामी जनतामाझ आएका हौं ।

तपाईहरु हिजो पनि त १० वर्षसम्म जनताको घरमा गएर गुनासो सुन्नुभएको हो, जनताले पनि माओवादीलाई विश्वास गरेर बहुमत सहित देशको पहिलो पार्टी बनाएर संसद पठाएका हुन् नि ?
हो हिजो पनि हामी जनताको घरदैलोमा गएका हौं । हिजो वर्ग, जाति लिङ्ग, क्षेत्रका प्रश्नहरु उठायौं, संघर्ष पनि ग¥यौं र एउटा स्थितिमा यो देशको राजतन्त्रको अन्त्य गर्ने, यो देशमा समानुपातिक समावेशी पद्यति लागु गर्ने प्रतिबद्धता ग¥यौं, हामीले उठाएका धेरै कुरा पुरा भए तर सबै अझै पुरा हुन सकेको छैन् । त्यसैका लागि पनि अहिले हामी जनतामाझ आएका छौं । अहिलेको अवस्थामा आईरहदाँ ३२ सिट जितेपनि यो देशको राजनैतिक हाम्रो कमाण्डमा छ । जातीय, वर्गीय, क्षेत्रलाई समानुपातिक रुपमा सम्बोधन गर्ने कुरामा होस् वा सरकारको नेतृत्व गर्ने दृष्टिकोणमा होस् यी सबै हाम्रो सेरोफेरोमा छन् ।

हिजो प्रत्यक्ष र समानुपातिक सहित २२० सिट लिएर देशको पहिलो बनेको दल आज ३२ सिटमा किन खुम्चियो ?
त्यो बेला हामी युद्धबाट भर्खर भर्खर आएका थियौं । राप र ताप पनि थियो । हाम्रो संगठन संरचना थिएन् । युद्धमा भएकाले युद्धकालिन शैलीको हाम्रो संगठन थियो । जनताको बिचमा हाम्रो संगठन थिएन । त्यस्तो बेला हामीले जित्यौ, यो माओवादीलाई जिताउन पर्छ यो देशमा केहि गर्न सक्छ भनेर जनताले आशाका साथ मत दिएर हामीले जित्यौं । त्यो समयसम्म हामी सत्ताका अनुभवी पनि थिएनौं । कतिपय कुराहरुमा हाम्रा कमजोरीहरु पनि छन् । पार्टीभित्र अन्तरसंघर्ष भयो जसका कारणले पार्टी पनि विभाजन भयो । तेस्रो कुरा हामीले हाम्रा पार्टी कार्यकर्तालाई व्यवस्थापन गर्न सकेनौं । अहिले पनि समानुपातिकमा १२ लाख भोट आयोनि त जनताले त अझै पनि विश्वास गर्छन् । तर पछिल्लो समय पार्टी बिग्रिएको छ । नेताह जनताको विकासमा लाग्न सकेनन् त्यसैले हामीले रुपान्तरण अभियान थालेका हौं ।

शान्ति प्रक्रियामा आएपछि पनि हालसम्म माओवादी पटक–पटक सत्तामा गयो, तर जनताले भने जस्तो किन हुन सकेन ? सत्ता मोह लागेको हो र ?
तपाईले भनेजस्तो हामी कहिले सत्तामा कहिले सत्ताभन्दा पक्कै गइरहेका छौं । सत्तामा जानुको कारणहरु भनेकाः
शान्ति प्रक्रियामा निर्णय गरेका कतिपय कुराहरु जस्तै सत्य निरुपण मेलमिलाप आयोग, बेपत्ता आयोग अहिलेपनि टि.आर.सीको मुद्धा अहिलेपनि टुंगेको छैन् । त्यसैले अन्य राजनैतिक दलसँग सहकार्य गर्न बाध्य छौं ।
यो संविधान धेरै मेहनतले बनायौं हामीले संविधान सभाबाट, केहि उपलब्धी हामीले त्यहाँ राखेका छौं यो संविधानको रक्षा गर्न र विकास गर्न पनि हामी पटक–पटक सत्तामा जानुपरेको हो ।

पछिल्लो समय तपाईले देखिरहनुभएको छ देशको नेतृत्प गर्ने उच्च तहका नेताहरु नै ठुला ठुला भ्रष्टचारका मुद्धामा मुछिन थाले, यसले त जनतामा नेताप्रति भरोसा नभएर निरासा छाउला नि होइन र ?
हो यो जे भइरहेको छ गलत भइरहेको छ । मैले पहिला नै भने आचारण, कार्यशैली, जीवनपद्ती, आर्थिक, पद र प्रतिष्ठाका लागि जे पनि गर्न सक्ने स्थिति भएकाले हामी बिग्रिएका हौं । अहिले हाम्रो पार्टीको नेतृत्वमा भएको सरकारले भ्रष्ट्रचार विरुद्धको अभियान नै चलाएको छ । यदी हाम्रो पार्टीभित्र भ्रष्ट्रचार गरेका, अनैतिक काम गरेका मान्छेहरु छन् भने तिनलाई कारोबाही हुनुपर्छ भन्ने पक्षमा पार्टी छ । हाम्रो पार्टीभत्र जो सुकै नेता भएपनि कारोबाही हुन्छ ।

यतिबेला रुपान्तरण अभियान मै हुनुहुन्छ अर्घाखाँची जिल्लाका गाउँगाउँ जानुभएको छ यहाँका जनताको प्रतिक्रिया के पाउनुहुन्छ ?
जिल्लाका ६ वटै स्थानीय तहका बैठक सम्पन्न गरे । केही वडामा पनि पुगिसकेको छु । त्यहाँ पुगिरहँदा जनतासँग भलाकुसारी गर्ने गरेका छौं । अभियानको आचार संहिता पनि बनाएका छौं । भाद्र १६ गते अभियानको पार्टी अध्यक्षले उद्घाटन गरेपछि अभियान सुरु हुनेछ । यो हाम्रो अभियानको तयारी मात्र हो । अभियानको उद्घाटन् भएपछि खास अभियान सुरु हुन्छ, अभियान माद्र १६ देखि मंसिर १६ गतेसम्म चल्ने छ ।
मैले अर्घाखाँचीलाई राम्रोसँग बुझेको मान्छे हुँ, यहाँको भुगोलसँग परिचित भएकाले यो जिल्ला कम्युनिष्ट पार्टीको उर्भर भुमी हो, हामीले पनि हाम्रा कुरा यहाँका नागरकलाई सिकाउने र जनताबाट पनि केहि कुरा सिक्न पाउँदा गौरव लागेको छ । हामीले जिम्मा लिएका वार्डलाई नमुना बनाउन लागी पर्ने छौ । यसले गर्दा जनताको प्रतिक्रिया पनि राम्रो होला भन्ने विश्वास लिएका छौं ।

अभियान पछि अर्घाखाँचीको माओवादी पार्टी कस्तो बन्छ भन्ने विश्वास लिनुभएको छ ?
अर्घाखाँचीमा माओवादीको अहिले यसो रिपोर्ट हेर्दा ४३÷४४ सय करिब पार्टी सदस्य भएको पाए । मैले ६ वटै स्थानीय तहको रिपोर्ट हेर्दा ३८ सय जति फेला पारेको छु । अब अभियान पछि यहाँको पार्टीलाई १० हजार सक्रिय सदस्य बनाएर अब्बल पार्टी बनाउने र उत्पादन सँग जोड्ने पार्टी बनाएर फर्कने लक्ष्य लिएको छु । अभियान पछि वास्तविक जनताको पार्टी बन्ने विश्वास लिएका छौं । मैले छाता आकारको संगठन नभइ पिरामिड आकारको माओवादी संगठन बनाउने छु ।

देशमा भएका सहिद, घाइते र बेपत्ता परिवारका लागि पार्टीको निर्णय के हो ?
सहि प्रश्न गर्नुभयो, अहिले हाम्रो सरकार आएपछि, राजपत्रमा अंकित हुनेगरी सरकारका सहित घोषणा गरिसकेका छौं । उहाँहरुलाई परिचयपत्र बनाईदिँदै छौं । घाईतेहरुलाई उपचारको व्यवस्था गरेका छौं । बेपत्ता परिवार उनिहरुलाई संरक्षण गर्ने, व्यवस्थापन गर्ने काम गरेका छौं । हाम्रो पार्टीका लागि यी सबै प्राथमिकतामा पर्नेछन् ।

अन्त्यमा के भन्नुहुन्छ ।
हामीले पार्टीलाई पुनः निमार्ण गछौं । हामीले माओवादीलाई फेरी प्रतिबद्धा पार्टी बनाउँछौं । जनताका समस्या माओवादी पार्टीले नै हो हल गर्ने त्यसैकारणले अहिलेको अभियानमा तपाईमाझ आएका हाम्रा नेता कार्यकर्ता सँग भलाकुसारी गर्नुहोस्, रचनात्मक आलोचना गर्नुहोस्, सुझाव दिनुहोस्, पनि पार्टी निर्माणमा लाग्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै