काठमाडौं । वायु प्रदुषणको सवाल, वर्तमान अवस्था र नीतिग पहलहरुको लागि सरोकारवालाहरुसंगको संवाद कार्यक्रम नयाँ बानेश्वरमा सम्पन्न भयो । क्लिन अप नेपाल र जिडी ल्याब तथा रिसर्चको संयुक्त आयोजना तथा EPIC Air Quality Fund को सहयोगमा सञ्चालित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रीना चौधरीले वायु प्रदुषणले मानव स्वास्थ्यमा पारेको दिर्घकालिन र गम्भिर असरहरुबारे प्रकास पार्नुका साथै नेपाल सरकार, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदुषण संकटलाई विपदको सूचिमा राख्ने गरि भैरहेका प्रयासहरु र अन्य सरोकारवाला निकायहरुसंग गरेको सहकार्यको बारेमा प्रकाश पार्नुभयो ।
काठमाण्डौं र ललितपुर महानगरपालिका कार्यालय तथा काठमाण्डौं उपत्यका भित्रका अन्य नगरपालिकाबाट उपस्थित प्रतिनिधीहरुले वायु प्रदुषण न्यूनिकरणमा स्थानीय सरकारले गरेका अभ्यासहरु बताउनु भयो । सबै सहभागिहरुले प्रदुषण नियन्त्रणमा एकिकृत पहलको खाँचो रहेको, स्थानीय सरकारको श्रोत तथा क्षमता विकासमा जोड दिनुपर्ने, सामाजिक संस्थाहरुले समुदायको सचेतना र क्षमता विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वायु प्रदुषणको कारणहरु र यसले जनस्वास्थ्यमा पारेको प्रभावका साथै संस्थाले काठमाण्डौ उपत्यकाका ३९ विद्यालयहरु र १ वटा समुदायमा वायु गुणस्तर मापन यन्त्र स्थापना, विद्यालयमा सचेतना विस्तार र प्रदुषण न्यूनिकरणका लागि तथ्यमा आधारित नीतिग वकालत सम्बन्धी प्रस्तुती गर्नुभयो । साथै वायु प्रदुषण सम्बन्धी प्रभावकारी नीति विश्लेषण गर्न, प्रभावकारी नीति निर्माणका लागि सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्न र प्रदुषण न्यूनिकरणमा योगदान गर्न आगामि दिनमा सहकार्य बढाउने बताउनु भयो ।
जिडि ल्याव एण्ड रिसर्चका प्रमुख प्राविधिक अधिकृत समिप सिग्देलले सहजरुपले स्वास लिउँ, बालबालिकाहरुलाई प्रदुषणबाट जोगाँउ भन्ने कार्यक्रम मार्फत उपत्यकाका ३९ वटा विद्यालय तथा १ वटा समुदायमा राखेका वायु गुणस्तर मापन यन्त्रले देखाएको नतिजा र यसले समुदाय, विद्यालय र स्थानीय सरकारलाई न्यूनिकरणका लागि उत्प्रेरित गरेको बताउनु भयो । कार्यक्रमका सहभागिहरुले वायु प्रदुषणको जोखिमलाइ कम गर्न नीतिगत स्पष्टताका लागि थप वकालत गर्नुपर्ने, सबै तहका सरकारी निकायहरु बिच प्रभावकारी समन्वय हुनुपर्ने, र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु गर्दै कार्यहरुमा जोड दिनुपर्ने बताए । १४ महिला सहित ४७ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वकालत तथा अभियान सल्लाहकार प्रेम प्रकाश नेपालीले गर्नु भयो ।

























