
रिता सुनार, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला केही दिन यता लगातार गर्मी बढेपछि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो ।
नगरपालिकाले जेठ २२ गते सोमबारदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी विद्यालय बन्द गर्न लागेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए । उनका अनुसार गर्मी यसरी नै बढ्दै गए बिदा थप गर्न सकिने बताए ।
