
- नेपाली कांग्रेस अर्घाखाँचीका छवटै स्थानीय तहमा अधिवेशनको उद्घाटन सम्पन्न भएको छ।
- भूमिकास्थान र छत्रदेवमा नेतृत्व सर्वसम्मत चयन भइसकेका छन्।
- अन्य चार पालिकामा सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास भइरहेको छ।
रुद्रमणी भुसाल अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका छवटै स्थानीय तहमा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। तीमध्ये दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी चार स्थानीय तहमा पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण खनालले जानकारी दिनुभयो।
सर्वसम्मत नेतृत्व चयन हुनेमा भूमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिका रहेका छन्। भूमिकास्थान नगरपालिकाको नेपाली कांग्रेस नगर कार्यसमितिको सभापतिमा रामप्रसाद घिमिरे ‘तीर्थ’ र छत्रदेव गाउँपालिका गाउँ कार्यसमितिको सभापतिमा प्रकाशराज पन्थी निर्विरोध निर्वाचित हुनुभएको छ।
पाणिनी गाउँपालिकामा सभापति पदका उम्मेदवार अर्जुन पोखरेल र नुर मोहम्मद अलीबीच सहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको नेता यादव घिमिरेले जानकारी दिनुभयो।
त्यस्तै, शीतगंगा नगरपालिकामा नगर सभापति पदका लागि पाँच जना उम्मेदवार रहेका छन्। मालारानी गाउँपालिकामा पनि गाउँपालिका सभापति पदका लागि पाँच जना उम्मेदवार मैदानमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले जानकारी दिनुभयो।
सन्धिखर्क नगरपालिकामा नगर सभापतिका लागि लीलाधर बस्याल र तुलसीराम पौडेलबीच सहमति जुटाउने प्रयास भइरहेको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको विधानअनुसार गाउँपालिका तथा नगरपालिका सभापतिहरू महाधिवेशन प्रतिनिधिको पदेन सदस्य हुने व्यवस्था रहेकाले पनि पालिका नेतृत्वका लागि आकांक्षीहरूको संख्या बढेको कांग्रेस नेताहरूको भनाइ छ।
सन्धिखर्कमा आयोजित नेपाली कांग्रेस नगर समितिको अधिवेशन उद्घाटन सत्रमा पार्टीकी उपसभापति पुष्पा भुसालले सहमतिमै नेतृत्व चयनका लागि निरन्तर प्रयास गरिने बताउनुभयो। उहाँले वर्तमान विधानले युवा, दलित, मुस्लिमलगायत विभिन्न समुदायलाई पार्टीको नेतृत्व तहमा सहभागी गराउने तथा गाउँदेखि नगर र नगरदेखि केन्द्रसम्म जोड्ने गरी महाधिवेशन प्रतिनिधिका लागि पर्याप्त अवसर सिर्जना गरेको बताउनुभयो।


























