
- विश्वभर डिजिटल सरकारी सेवामा प्रगति भए पनि राष्ट्रहरूबीच डिजिटल असमानता कायमै रहेको राष्ट्रसङ्घको सर्वेक्षणले देखाएको छ।
- ई–गभर्नेन्स विकासमा दक्षिण कोरिया विश्वको पहिलो स्थानमा रहेको छ भने युरोप समग्र विकासमा अग्रस्थानमा छ।
- मूल्याङ्कन गरिएका १९४ देशमध्ये १५१ देश उच्च डिजिटल विकास समूहमा परेका छन्।
विश्वभर डिजिटल सरकारी सेवामा उल्लेख सुधार र प्रगति हुँदै गए पनि विभिन्न देशबीच डिजिटल विकासको असमानता अझै कायम रहेको संयुक्त राष्ट्रसङ्घको नयाँ सर्वेक्षणले देखाएको छ ।
सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय ई–गभर्नेन्स सर्वेक्षणअनुसार डिजिटल सरकारको विकासमा दक्षिण कोरिया विश्वकै पहिलो स्थानमा रहेको छ । सन् २०२६ को मूल्याङ्कन प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र र प्यालेस्टाइनसहित कुल १९४ देशलाई समेटिएको छ ।
उत्कृष्ट १० देशमा दक्षिण कोरियापछि डेनमार्क, सिङ्गापुर, साउदी अरब, यूएई, आइसल्यान्ड, बेलायत, इस्टोनिया, फिनल्यान्ड र अस्ट्रेलिया रहेका छन् । अनलाइन सेवाको पहुँच तथा गुणस्तर, दूरसञ्चार पूर्वाधार र मानव पुँजीका आधारमा देशहरूको मूल्याङ्कन गरिएको सर्वेक्षणमा उल्लेख छ ।
उच्च ई–गभर्नेन्स विकास समूहमा पर्ने देशको सङ्ख्या सन् २०२४ मा १८ रहेकामा सन् २०२६ मा बढेर २१ पुगेको छ । यस समूहमा आयरल्यान्ड, काजकिस्तान र पोल्यान्ड पहिलो पटक प्रवेश गरेका छन् भने अमेरिका पुनः समावेश भएको छ ।
त्यस्तै, मूल्याङ्कन गरिएका १९४ देशमध्ये १५१ देश उच्च वा अत्यन्त उच्च ई–गभर्नेन्स विकास सूचकाङ्क (ईजीडीआई) समूहमा परेका छन् । सन् २०२४ मा यस्तो सङ्ख्या १३८ थियो ।
क्षेत्रगत रूपमा सबै क्षेत्रमा डिजिटल सरकारी सेवाको विकास भएको छ । युरोप पहिलो स्थानमा रहेको छ भने त्यसपछि एशिया, अमेरिका, ओसिनिया र अफ्रिका रहेका छन् । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागले हरेक दुई वर्षमा ई–गभर्नेन्स सर्वेक्षण सार्वजनिक गर्दै आएको छ ।


























