नविन रसाईली अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले २०७९÷०८० को लागि कुल ८६ करोड ३६ लाख ६९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औं नगरसभाबाट ८६ करोड ३६ लाख ६९ हजार रुपैयाको बजेट विनियोजन गरेको मंगलबार पत्रकार सम्मेलन गरेर नगर प्रमुख झबिलाल थापाले जानकारी दिए ।
नगरपालिकाले शिक्षा, स्वास्थ, कृषि तथा पशुपालन, पर्यटन लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले विद्यालय सँग नगरपालिका, गर्भवतीहरुलाइ घुम्ती, अल्ट्रासाउन्ड मार्फत सेवा प्रवाह, जेष्ठ नागरिक घरदैलो कार्यक्रम, कृषि जन्य बस्तुहरुको परिक्षणको रुपमा खरिदबिक्रीको व्यवस्थापन, धार्मिक कृषि पर्यटनलाई मियोका रुपमा फोकस, नगरका मुख्य सडकको अतिरिक्त प्रत्येक वडाका वडा स्तरीय मुख्य १÷१ वटा सडकलाई आगामी ५ वर्षमा कालोपत्रे, सबै घरमा एक घर एक धारा तयार, भु–क्षय नियन्त्रण एवं रोकथामका लागि बायो ईन्जिनियरिङका साथै वृक्षरोपणमा जोड, रिचार्ज पोखरी निमार्ण लगायतका कार्यक्रमहरु समावेश गरिएको नगर प्रमुख थापाले बताए ।
समृद्ध र सुखी नगर निमार्ण गर्न नगरपालिका विभिन्न योजना र कार्यक्रमका साथ लागीरहेको नगर उपप्रमुख बालकृष्ण बन्जाडे बताए ।
प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राहुतले वजेट र नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नगरपालिकाले विशेष जोड दिइने बताउदै कृषि पर्यटन, शिक्षा स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्ने बताए ।
पत्रकार सम्मेलनमा भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राहुत, विभिन्न राजनैतक दलका नगर प्रमुख तथा प्रतिनिधी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल लगायत पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु एवं विभिन्न मिडियाहरुमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगरपालिका प्रमुख झबिलाल थापाको अध्यक्षता, शेसकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो ।