नविन रसाईली अर्घाखाँची । यतिबेला नेकपा (माओवादी केन्द्र) ले तीन महिने रुपान्तरण अभियान थालेको छ । देशभर रुपान्तरण अभियान थालेको माओवादीले मंगलबार अर्घाखाँची जिल्लामा पनि पत्रकार सम्मेलन मार्फत रुपान्तरण अभियानको बारेमा जानकारी गराएको हो ।
अभियानको अर्घाखाँची जिल्ला ईन्चार्जमा बामदेव क्षेत्रीलाई तोकिएको छ । क्षेत्रीले जिल्लामा रहेका सबै पालिकाका सबै वडा तथा टोलटोलमा माओवादी नेता कार्यकर्ता पुगी जनताका गुनासा सुन्ने, माओवादी प्रतिको जनताको धारणा के छ बुझ्ने जानकारी दिए । रुपान्तरण अभियान पछी सुधारिएको माओवादी निमार्ण हुने नेता क्षेत्रीले विश्वास लिएका छन् । “जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने नारा सहित ०६४ सालको जस्तो माओवादी निमार्ण गरी देश र जनतालाई सुशासन र विकासको प्रत्याभुती दिलाउने उनले बताए ।
देश यतिबेला आर्थिक संकटबाट गुज्रीरहेको छ । बाह्य ऋण पनि बढ्दो, यस्तो अवस्थामा देशको आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सबै नेता, कार्यकर्ता, जनता उत्पादनमा जोडिन आवश्यक रहेको क्षेत्रीको भनाई छ । ‘हामीले अभियानको क्रममा विभिन्न डाटाहरु संकलन गर्ने छौं, ति मध्ये बेरोजगारीको समस्या समधान गर्न आवश्यक सीप तथा तालिम दिई कम्तिमा एक पालिकामा दुई उद्योग संचालन गर्ने लक्ष्य रहेको छ,’ उनले भने ‘उद्योग र साना उद्योगमा वर्गिकरणका लागि अध्ययन गरी काम अघि बढाउने छौं ।’
माओवादीले जिल्लाका सबै पालिकामा अभियानको जिम्मेवारी तोकेको छ । तिन महिने अभियानमा नौं बुँदे आचार सहिता पनि राखिएको छ । आचार सहिता विपरित केही नगर्ने नेताहरुको भनाई छ । आफुले जिम्मा लिएर काम गरेको वार्डलाई नमुना बनाउन सबै लागिपर्ने उनिहरुले जिकिर गरे । अभियानको क्रममा जिल्लामा १० हजार भन्दा धेरै पार्टी सदस्य बनाउने, गाउँमा भएको बाँझो जमिनको तथ्यांक एकीन गर्ने त्यस्तै धुर्विकरण र एकीकरणलाई तिब्रता दिने लगायतका लक्ष रहेका छन् ।
यस्तै अभियानका जिल्ला ईन्चार्ज क्षेत्रीले माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताए । उनले भ्रष्ट्रचार विरुद्धको अभियानमा कुनैपनि सम्झौता नगर्ने माओवादीको अडान रहेको समेत जानकारी दिए । ‘सरकारले यतिबेला भ्रष्ट्रचार विरुद्धको अभियान थालिरहेको छ, त्यसमा माओवादीले कुनैपनि सम्झौता गर्दैन्,’ उनले भने ‘भ्रष्ट्रचारमा माओवादी नेताहरु परेपनि जेल जान तयार छौं ।’
माओवादीले हिजो गरेको आन्दोलनबाट देशको व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न तिन महिने अभियान थालेको माओवादीका जिल्ला संयोजक राजेन्द्र भुसालले बताए । भुसालले माओवादीले जनता अपेक्षा अनुसार काम गर्न सरकार, सदन र सडक तिनै तिर लाग्नुपर्ने बेला आएको बताए ।

























