नविन रसाईली अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय राहदानी बनाउनेको संख्यामा बृद्धि भएको छ । गएको आ.व २०७९÷०८० मा मात्रै ८ हजार ७ सय ७९ जनाले राहदानी बनाएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ६ सय ३९ जनाको राहदानी दुर्त सेवा तर्फ सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले जानकारी दिए । पन्थीले पछिल्ला दिनहरुमा दैनिक २० देखि २५ जना राहदानी बनाउन लाइनमा बस्ने गरेको बताए । ‘पहिलेको तुलनामा अहिले राहदानी बनाउन सहज भएको छ, पहिला राहदानीको आवेदन दिएको ४५ दिनमा मात्र राहदानी आउने गरेकोमा अहिले २५ दिन मै राहदानी आउने गर्छ,’ उनले भने ‘छिटो सेवाले गर्दा पनि पछिल्लो समय राहदानी बनाउनेको संख्यामा बृद्धि भएको पाइएको छ ।’
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा गत आ.व. ०७९÷८० मा राहदानी माफर्त ४ करोड ९५ लाख ६२ हजार ५ सय राजस्व उठेको छ । सबैभन्दा धेरै राजस्व राहदानी मार्फत उठेको प्रशासकीय अधिकृत पन्थीले बताए । कोही बैदेशिक रोजगारीमा जानेहरुले राहदानी बनाएका छन् भने कोही अध्ययनका लागि जानेहरुले राहदानी बनाएका छन् ।
राष्ट्रिय परिचय पत्र कार्ड वितरण सुरु
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आइतबार देखि राष्ट्रिय परिचय पत्रको कार्ड वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा पहिलोपटक राष्ट्रिय परिचय पत्रको कार्ड सन्धिखर्क नगरपालिका वडा नं. ८ निवासी रिता गैरेलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा २ हजार ४८ वटा परिचय पत्र कार्ड आएका छन् ति कार्डहरु क्रमशः वितरण गरिने उनको भनाई छ ।
२०७७ असार ३० गतेबाट अर्घाखाँचीमा राष्ट्रिय परिचय पत्रको आवेदन लिन सुरु गरिएको थियो । अहिले तिन वर्ष पछि जिल्लामा राष्ट्रिय परिचय पत्रको कार्ड वितरण सुरु गरिएको छ ।
राष्ट्रिय परिचय पत्रका लागि अहिले सम्म ५२ हजार १ सय ९ जनाले आवेदन दिएका छन् । जसमध्ये जिल्ला प्रशासन कार्यालयमा २८ हजार १ सय ६२ र घुम्टि अभियान मार्फत २३ हजार ९ सय ४७ जनाले आवेदन दिएका परिचय पत्र शाखाका कम्पयुटर धनकला पाण्डेले जानकारी दिइन् ।
७ हजार भन्दा धेरैले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा गत एक वर्षमा ७ हजार भन्दा धेरैले नागरिकता लिएका छन् । गत आ.व ०७९÷८० मा ७ हजार ५ सय ९९ जनाले नयाँ नेपाली नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याकंमा उल्लेख छ । तथ्याकं अनुसार १७ जनाले बैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् भने १० हजार ६ सय ७८ प्रतिलिपी नागरिता जारी भएका छन् । प्रतिलिपी नागरिकता बढ्नुको कारण अभिलेख नभएका नागरितालाई अभिलेख कायम गरेर जारी गर्नु रहेको प्रशासकीय अधिकृत नुमलाल पन्थीले जानकारी दिए । उनका अनुसार नाबालक परिचय पत्र १७८ जारी भएका छन् ।