नवीन रसाइली अर्घाखाँची । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्था प्रति असन्तुष्टी जनाउँदै शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षा विधेयक शिक्षकको हित विपरीत भएको बताउँदै देशभरका शिक्षकहरु आन्दोलित भएका हुन ।
गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने, शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध लगाउने र सरकारी विद्यालयले शुल्क लिन नपाउने लगायतका प्रावधान प्रस्ताव गरिएको छ ।
यस्तै यो शिक्षा ऐन प्रारम्भ हुँदाको बखत कायम रहेका राहत शिक्षक, शिक्षक अनुदान कोटा र विशेष शिक्षा प्राविधिक शिक्षक तथा प्रशिक्षक कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने प्रस्ताव गरेको छ । यसरी विभिन्न राजनैतिक दलको आडमा नियुक्त भएका शिक्षकलाई स्थायी गर्न माग गर्नु गलत भएको शिक्षक महासंघका नेताहरूले बताएका छन् । यसले गर्दा योग्य र सक्षम व्यक्तिलाई नियुक्ति हुने बाटो छेक्ने पनि बताएका छन् ।
शिक्षा ऐेन २०८० संसदमा पेश भएपछि देशभरका शिक्षक आन्दोलनरत छन् । विधेयकमा शिक्षकको सरुवा, बढुवाको भूमिका स्थानीय तहलाई दिएको छ । एक शिक्षक अन्य विद्यालयमा जान चाहेमा स्थानीय तहको सहमतिमा सरुवा हुने छ तर शिक्षकहरुले भने यो अधिकार संघ अन्तर्गतको जिल्ला शिक्षा कार्यालयलाई दिनपर्ने माग गरेका छन् । विधेयकमा भने शिक्षा कार्यालय पुनःस्थापन गरिने बताइएको छ ।
आज मंगलबार अर्घाखाँचीबाट नेपाल शिक्षक महासंघका शिक्षकहरु महासंघद्वारा घोषित सडक आन्दोलनमा भाग लिन काठमाडौं तिर लागेका छन् । जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थाननगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत करिब १५० भन्दा धेरै शिक्षकहरु आन्दोलनका लागि काठमाडौं प्रस्थान गरेका हुन ।