अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा माघे संक्रान्ति पर्वको अवसरमा एकदिने बृहत कृषि तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ । सन्धिखर्क नगरपालिका वडा नं.२ त्रिवेणी धाममा मेला लाग्ने उद्योग वाणिज्य संघ अर्घाखाँचीले जनाएको छ ।
बाँगीखोला, घोचेखोला र भद्रीखोलाको संगमस्थल भनेर चिनिने त्रिवेणी धाममा माघ एक गते बृहत कृषि तथा औद्योगिक प्रदर्शनी मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए । मेलामा जिल्लामा उत्पादित कृषि जन्य बस्तु, घरेलु उत्पादनका सामाग्रीको प्रदर्शन गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम हुने मिश्रले बताए ।
त्रिवेणी धाममा प्रत्येक वर्ष माघी मेला लाग्ने गर्छ । माघे संक्रान्ति, मकर संक्रान्ति तथा माघी नामले चिनिने यो पर्व नेपालको एक महत्त्वपूर्ण र प्रमुख चाड हो । माघे संक्रान्ति पर्वका विभिन्न धार्मिक विश्वास छन् । यस्तै यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै विश्वास पनि छ । माघी संक्रान्ति नेपालभर विभिन्न पवित्र नदि तथा त्रिवेणीमा स्नान गरि मनाइने गरिन्छ ।
मेलाको आयोजकमा उद्योग वाणिज्य संघ अर्घाखाँची रहेको छ भने सह-आयोजकमा सन्धिखर्क नगरपालिका, घरेलुु तथा साना उद्योग कार्यालय अर्घाखाँची, प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाइ अर्घाखाँची, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र अर्घाखाँची रहेका छन् ।