काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । पोखराको विमानस्थल परिसरमा आज आइतवार आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, चीन सरकारका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । उद्घाटनअघि हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो । विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु देशकै लागि गौरवको विषय रहेको उल्लेख गर्दै अब विमानस्थलको सञ्चालन र पोखराको विविध क्षेत्रको विकासमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको ठूलो पहल तथा विभिन्न सरकारले गरेको मेहनतले गर्दा विमानस्थलको निर्माण सम्पन्न भएको बताउनुभयो । यो विमानस्थलमा नेपालमै अहिलेसम्म नभएका प्रविधि र उपकरण जडान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विमानस्थल निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनकै दिन आज भने कुनै पनि अन्तर्राष्ट्रिय उडान भएनन् । प्रधानमन्त्री प्रचण्ड नै आन्तरिक उडानको जहाजबाट पोखरा पुग्नुभएको थियो ।
चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०३२ सालमा जमिन अधिग्रहण गरे पनि २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माण कार्य सुरु भएको थियो । योसँगै पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन शो लगायतका कार्यक्रम राखिएको छ । विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । महानगरले आज बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थलको उद्घाटनको दिन आजदेखि नै सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।