नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ बाँगीमा जन्म भई हाल सन्धिखर्क नगरपालिका वडा नं. २ संकेटारी मिर्मिर टोल बस्ने लेखक नरेन्द्र कुमार क्षत्रीको ‘स्मृतिका पानाहरु’ नामक पुष्तक विमोचन भएको छ । स्मृतिका पानाहरुमा क्षत्रीले जीवनका महत्त्वपूर्ण मानिस, शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन, जीवनका संघर्ष र उहाँका विचारहरु उल्लेख भएको छ । पुष्तक विमोचन शनिवार सन्धिखर्कमा भएको थियो ।

नरेन्द्र कुमार क्षत्रीको जन्म वि.स २००६ साल असोज ३० मा भएको हो । उहाँको पिताको नाम दीप बहादुर क्षेत्री र माताको नाम अम्बी क्षेत्री हो । श्रीमतीको नाम प्रमिला क्षेत्री हो । क्षेत्रीले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । २०२३ बाट प्राथमिक तह देखि अध्यापनको यात्रा सुरु गर्नुभएका उहाँले माध्यमिक तहसम्मको अध्यापन यात्रा सँगै तिनै तहमा प्रधानध्यापक भएर शिक्षाको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो ।
क्षत्री शिक्षा क्षेत्रमा मात्र नभई २०२४ सालदेखि बामपन्थी राजनितिमा सक्रिय हुनुभयो । शिक्षा र राजनितिको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच राख्दै उहाँ अध्यापन कार्य सँगसँगै राजनैतिक कार्यमा पनि उत्तिकै सक्रिय हुनभयो । उहाँले २०७५ सालमा ‘आफ्नै विगत र वर्तमान’ नामक कृर्ति प्रकाशित गनुभएको थियो ।
क्षत्रीको स्मृतीका पानाहरुमा ‘घरभेटी राणाको भान्साबाट तिहारका रोटी, मासु आदीको मगमग बासना आइरहेको थियो । आफ्नो पेटमा टर्रो चियाको पानी बाहेक केही थिएन । खाली पेटमा मुसा दौडीरहेका थिए । निदाउनको लागि पुष्तक पल्टाउन्थे तर निद्राका लागि पनि पेट भरी चाहिदो रहेछ ।’ जस्ता उहाँले भोग्नुभएका कुराहरु पनि छन् ।
बिमोचन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल), नवनिर्वाचित प्रदेश सांसद रामजी प्रसाद घिमिरे, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, विभिन्न विद्यालयका प्रधानध्यापक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सहयोगी विसीको स्वागत मन्तव्य र शोभाखर पन्थीको संचालनमा सम्पन्न भएको थियो ।


























