
- गएराति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
- कपिलवस्तुमा सबैभन्दा धेरै ६३ मिलिमिटर वर्षा मापन गरिएको छ।
- आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
काठमाण्डौ – गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको छ ।
कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक–दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ ।


























