
- चाडपर्व नजिकिएसँगै काठमाडौंबाट घर फर्किने यात्रुहरूको चाप बढेको छ।
- यस वर्ष झण्डै १० लाख नागरिक उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।
- यात्रुको सहजताका लागि थप गाडीको व्यवस्था र सुरक्षा अनुगमन बढाइएको छ।
काठमाण्डौ – दशैँ – तिहार, छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु भएको छ ।
चाडपर्व मनाउन काठमाण्डौ उपत्यका छोड्ने क्रम शुरु भएसँगै प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल हुन थालेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दशैँ–तिहारलगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान छ । उहाँका अनुसार दशैँका लागि गाउँघर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्नेछ ।
यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक गाडीमा यात्रुको चाप थप बढेको बताउनुभयो ।
यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त गाडीहरु सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, गाडीको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत बढाएका छन् ।
यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ ।


























