
- अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरमा कार्तिक ११ गतेदेखि खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
- युवाहरूको एकता र खेल प्रतिभाको विकासका लागि हुने सो प्रतियोगितामा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार रुपैयाँ पाउनेछन्।
- प्रतियोगितालाई भव्य बनाउन स्थानीय युवाहरू सक्रिय छन् भने देश-विदेशमा रहेका इच्छुकहरूलाई सहयोगका लागि अपिल गरिएको छ।
हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरमा दशैं–तिहारको अवसर पारेर खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। धनचौरका सम्पूर्ण युवाको आयोजनामा आगामी कार्तिक ११ गतेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
युवाहरूबीच एकता, आपसी भाइचारा कायम गर्दै स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न देश तथा विदेशबाट समेत सहयोग संकलन भइरहेको आयोजक ऋषिकेश आलेले बताउनुभयो। उहाँका अनुसार क्रिकेटप्रति चासो र उत्साह बढ्दै गएकाले प्रतियोगितालाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ।
त्यस्तै, प्रतियोगिता भव्य र व्यवस्थित बनाउन धनचौरका सम्पूर्ण युवाहरू एकताबद्ध भएर लागिरहेको आयोजक कैलाश गैरेले बताउनुभयो। उहाँले प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा उजागर गर्नुका साथै धनचौर क्षेत्रको खेलकुद विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख, दोस्रो हुने टोलीले रु. ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन देश–विदेशमा रहेका सम्पूर्ण खेलप्रेमी, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूलाई आर्थिक तथा आवश्यक सहयोग गरिदिन आग्रह समेत गरिएको अरुण घमले बताउनु भयो ।


























