
- सरकारले बिजुलीमा लगाउँदै आएको भ्याट हटाउने तयारी गरेको छ।
- ऊर्जा र अर्थमन्त्रीबीच भ्याट हटाउने विषयमा सहमति जुटेको छ।
- मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो व्यवस्था पूर्ण रूपमा हट्नेछ।
काठमाण्डौ – सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सहमति भएको हो । दुई मन्त्रिबीच हिजो भएको छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो ।
अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजानु हुनेछ । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् भ्याट लगाउन थालेको हो ।
अहिले घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लाग्छ ।
अर्थमन्त्री डा. वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो । समाचार स्रोत उज्यालो


























