
- जापानको नागोयामा २०औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ।
- प्रतियोगितामा ४५ देशका १५ हजार खेलाडीले ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
- नेपालबाट १३५ खेलाडी सहभागी हुँदै कम्तीमा एक स्वर्ण जित्ने लक्ष्य राखिएको छ।
काठमाण्डौ – २०औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ ।
जापानको नागोयामा रहेको मिजुहो रङ्गशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारिहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एशियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुई पटक एशियाली खेलकुद र पाँच वर्षअघि ओलम्पिक आयोजना गरिसकेकाले यस पटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
जापानले यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एशियाली खेलकुद आयोजना गरिसकेको छ । औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै सुरु भइसकेका छन् ।
विभिन्न ५४ वटा खेल स्थलमा सञ्चालन हुने यस पटकको एशियाली खेलकुदमा ४५ देश र एउटा शरणार्थी टोलीका खेलाडीहरूले ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १५ हजार खेलाडी र अफिसियलसहित कुल १७ हजार जनाको सहभागिता रहनेछ । आयोजक जापानबाट ९ सयभन्दा बढी, चीनबाट ८ सयभन्दा बढी र दक्षिण कोरियाबाट झन्डै ८ सय खेलाडी सहभागी हुँदैछन् ।
यस पटक नेपालका तर्फबाट २१ खेलमा ५७ महिलासहित कुल १३५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोहको ’मार्च पास’ मा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले यस पटक कम्तीमा एक स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कराँते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ ।


























