
- अर्घाखाँचीको भूमिकास्थानमा देउराली युवा क्लबको आयोजनामा खुला भलिबल प्रतियोगिता सुरु भएको छ।
- प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन्।
- यस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन र गाउँमा खेलकुदको विकास हुने अपेक्षा गरिएको छ।
हृदय भुसाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित देउरालीमा देउराली युवा क्लबको आयोजनामा खुला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आज एक कार्यक्रमका बीच भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेले उद्घाटन गर्नुभएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गैरेले खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले प्रतियोगितालाई मर्यादित, अनुशासित र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै आफूहरू सधैँ खेलकुद र खेलाडीको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि वडा सदस्य टामलाल भट्टराईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभेच्छा दिनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी हृदय भुसाल, समाजसेवी एवं युवा व्यक्तित्व नवीन घमलगायतले शुभकामना मन्तव्य राख्दै गाउँस्तरमा खेलकुद गतिविधिले युवाको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा धन्चौर अस्थायी प्रहरी चौकीका प्रमुख, टोल नं. ९ टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण भट्टराई, समाजसेवी व्यक्तित्वहरू रेशम जिसी, धनबहादुर उचाई, तेजुलाल भट्टराई, विष्णु चुदाली, हुमबहादुर नेपाली, फर्सुराम भट्टराई, रघु भट्टराई, मिना क्षेत्री, खगेन्द्र खासु,माया परियार लगायतको आतिथ्यता रहेको थियो।
क्लबका अध्यक्ष पदम भट्टराईको अध्यक्षता, समाजसेवी सुधीर नेपालीको स्वागत मन्तव्य र भुवन क्षेत्रीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भुवन क्षेत्रीले जानकारी दिनुभयो।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै गाउँमा खेलकुदको विकास र आपसी सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। खेलाडीको हौसला बढाउन तथा प्रतियोगितालाई थप मनोरञ्जनपूर्ण बनाउन सम्पूर्ण खेलप्रेमीलाई उपस्थितिका लागि क्लबका अध्यक्ष पदम भट्टराईले आग्रह गर्नुभएको छ।
त्यसैगरी, प्रतियोगिता सफल बनाउन आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरिएको समाजसेवी सुधीर नेपालीले बताउनुभयो। प्रतियोगितामा विभिन्न ठाउँ बाट भाग लिन खेलाडीहरु आएको पत्रकार हृदय भुसालले जानकारी दिनु भयो ।



























