विद्यार्थीलाई शिक्षा,समाजलाई प्रेरणा र परिवारलाई आम्दानी : विष्णुको कर्मशील जीवन

समाचार सारांश
Auto Generated by AI
  • अर्घखाँचीका विद्यालय प्रधानाध्यापक विष्णुप्रसाद बन्जाडेले शिक्षण पेसाका साथै व्यावसायिक तरकारी खेती, मौरीपालन, पशुपालन र होमस्टे सञ्चालन गरी उत्कृष्ट समय व्यवस्थापनको गतिलो उदाहरण प्रस्तुत गरेका छन्।
  • पत्नी मञ্জूसँगको संयुक्त मेहनतले उनको घरपरिवारलाई अतिरिक्त आम्दानीको स्रोत जुट्नुका साथै गाउँमै बसेर पनि आत्मनिर्भर र सम्मानजनक जीवन जिउन सकिन्छ भन्ने प्रेरणा दिएको छ।
  • कृषि उत्पादनको उचित बजारीकरण र बिचौलियाको प्रभाव हटाउन सकेमात्र वास्तविक किसानले आफ्नो मेहनतको सही मूल्य पाउने उनको गुनासो र अनुभव रहेको छ।

हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँची ।मेहनत गर्ने इच्छाशक्ति र समयको उचित व्यवस्थापन गर्न सके आफ्नै गाउँघरमा पनि राम्रो सम्भावना छ भन्ने उदाहरण बनेका छन्, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर सेङ्लेङ निवासी विष्णुप्रसाद बन्जाडे। उमेरले अझै ४० वर्ष नपुगेका बन्जाडे पेसाले विद्यालयका प्रधानाध्यापक हुन्। तर उनको परिचय विद्यालयको जिम्मेवारीमा मात्रै सीमित छैन। विद्यालयको शैक्षिक सुधारसँगै घरमै व्यावसायिक तरकारी खेती, मौरीपालन, पशुपालन र होमस्टे सञ्चालनमा समेत उनी उत्तिकै सक्रिय छन्।
सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक बन्जाडेले आफ्नो निरन्तर मेहनत र नेतृत्वदायी भूमिकामार्फत विद्यालयलाई नगरपालिकाकै राम्रो विद्यालयमध्ये एक बनाउन सफल भएका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समय र ऊर्जा खर्चिने उनी बाँकी समयलाई पनि उत्तिकै सिर्जनात्मक ढङ्गले उपयोग गर्छन्।
बिहान र साँझको समय तथा विद्यालय बिदा भएको दिनलाई उनले घरायसी कृषि कर्ममा लगाउने गरेका छन्। उनको घरआँगन र करेसाबारीमा पुग्ने जोकोहीलाई पनि त्यहाँ फलेका तरकारीले आकर्षित गर्छन्। बन्दागोभी, फूलगोभी, मुला, गाजर, सिमी, काँक्रो, टमाटर, खुर्सानी, लसुन, प्याजलगायत भान्सामा दैनिक प्रयोग हुने अधिकांश तरकारी उनको बारीमा देख्न सकिन्छ। मौसमअनुसारका तरकारी उत्पादन गर्दै आएका उनले घरको आवश्यकता पूरा गर्नुका साथै बिक्रीबाट आम्दानीसमेत गर्दै आएका छन्।
उनको घरपरिसर केवल तरकारी खेतीका लागि मात्र सीमित छैन। सुन्दर र आकर्षक घर, वरिपरि हरियाली, व्यवस्थित तरकारी बारी र मौरीका घारमा मह बोकेर उडिरहेका मौरीको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ। प्राकृतिक रूपमा सुन्दर र चिसो वातावरणमा रहेको उनको घरमा होमस्टेसमेत सञ्चालन गरिएको छ।
होमस्टेमा पुग्ने पाहुनाले स्थानीय तथा अर्गानिक परिकारको स्वाद लिन पाउँछन्। आफ्नै उत्पादनका तरकारी, भैँसीको दूध, घिउलगायत स्थानीय उत्पादनबाट पाहुनालाई सेवा दिइन्छ। सस्तो मूल्यमा अर्गानिक खाना, बस्नका लागि सहज व्यवस्था र स्थानीय उत्पादन खरिद गरेर लैजान चाहनेका लागि समेत सुविधा उपलब्ध रहेको छ। शान्त वातावरणमा केही समय बिताउन, गाउँको मौलिक जीवनशैली बुझ्न र स्थानीय परिकारको स्वाद लिन चाहनेका लागि यो ठाउँ राम्रो गन्तव्य बन्न सक्छ।
बन्जाडेले समय व्यवस्थापनलाई आफ्नो सफलताको मुख्य आधार बनाएका छन्। बिहानको समय घरको कृषि कर्ममा बिताउने उनी बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयको जिम्मेवारीमा पूर्ण रूपमा खटिन्छन्। विद्यालयको काम सकेपछि पुनः घर फर्किएर कृषि तथा अन्य काममा सक्रिय हुन्छन्। विद्यालयको शैक्षिक नतिजा राम्रो बनाउने जिम्मेवारीसँगै घरको उत्पादन र आम्दानी बढाउन उनले देखाएको सक्रियता अनुकरणीय छ।
यस काममा उनलाई श्रीमती मञ्जु बन्जाडेको पनि उत्तिकै साथ र सहयोग छ। सरल, सहज, लगनशील र कर्ममा विश्वास गर्ने मञ्जु पनि घरको कृषि कर्ममा निरन्तर खटिन्छिन्। श्रीमान्–श्रीमती दुवैको संयुक्त मेहनत, आपसी समझदारी र लगनशीलताले घरको करेसाबारीलाई उत्पादनमूलक बनाएको छ। उनीहरूको मेहनतले परिवारलाई आम्दानीको थप स्रोत सिर्जना गर्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देशसमेत दिएको छ।
बन्जाडेले उत्पादन गरेका तरकारी दैनिकजसो सन्धिखर्क बजारमा गाडीमार्फत पठाउने गरेका छन्। स्थानीय बजारमा तरकारीको माग भए पनि किसानले आफ्नो मेहनतअनुसार उचित मूल्य पाउन नसकेको उनको गुनासो छ। कृषि उत्पादनको बजारीकरणमा बिचौलियाको प्रभाव बढ्दा वास्तविक किसान मर्कामा पर्ने गरेको उनले बताए। किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउने वातावरण बनाउन सके कृषि पेसाप्रति थप आकर्षण बढ्ने उनको भनाइ छ।
गाउँको शान्त वातावरण, प्राकृतिक सुन्दरता र अर्गानिक खानाको स्वाद लिन चाहने पाहुनालाई आफूले सञ्चालन गरेको होमस्टेमा जुनसुकै बेला स्वागत गर्न तयार रहेको बन्जाडे बताउँछन्। स्थानीय उत्पादनको उपयोग गर्दै पाहुनालाई सहज र सुलभ सेवा दिने आफ्नो चाहना रहेको उनको भनाइ छ।
उमेरले ४० वर्ष पनि नपुगेका बन्जाडेको कामप्रतिको लगाव, समय व्यवस्थापन र बहुआयामिक सक्रियता हेर्दा उनी धेरैका लागि प्रेरणाका स्रोत बन्न सक्छन्। विद्यालयको जिम्मेवारी पूरा गर्दै घरमै कृषि उत्पादन, मौरीपालन, पशुपालन र होमस्टे सञ्चालन गर्नु सामान्य कुरा होइन। यसका लागि इच्छाशक्ति, निरन्तरता र मेहनत आवश्यक पर्छ भन्ने कुरा उनले आफ्नो व्यवहारबाट प्रमाणित गरेका छन्।
नेपालमा सम्भावना छैन भन्दै निराश हुनेहरूका लागि बन्जाडे दम्पतीको प्रयास एउटा सकारात्मक उदाहरण हो। विदेश वा सहरमा मात्रै अवसर खोज्नुभन्दा आफ्नै गाउँको माटो, वातावरण र उपलब्ध स्रोतसाधनलाई सदुपयोग गर्न सके गाउँमै पनि राम्रो आम्दानी र सम्मानजनक जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश उनीहरूको कर्मले दिएको छ।
यस्ता मेहनती युवा तथा किसानलाई प्रोत्साहन, कृषि उत्पादनको उचित बजार व्यवस्थापन, बजारीकरणमा सहजीकरण र स्थानीय पर्यटन प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिन आवश्यक छ। गाउँमा सम्भावना खोज्ने र आफ्नै मेहनतबाट उदाहरणीय काम गर्ने बन्जाडेजस्ता व्यक्तिलाई प्रोत्साहन गर्न सके स्थानीय अर्थतन्त्र बलियो बनाउनसमेत सहयोग पुग्नेछ।
मेहनत आफ्नै गाउँमा, सम्भावना आफ्नै माटोमा र सफलता आफ्नै कर्ममा खोजिरहेका विष्णुप्रसाद बन्जाडे दम्पतीको प्रयासले एउटा स्पष्ट सन्देश दिएको छ—इच्छाशक्ति र मेहनत भए आफ्नै गाउँमा पनि धेरै गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा आज खुला भलिबल प्रतियोगिताको उद्घाटन प्रथम हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

एनपीएल : सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

धन्चौर देउरालीमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ४० हजार पुरस्कार

- Advertisement -spot_img
-Advertisement-spot_img