
- अर्घाखाँचीकी सन्ध्या आचार्य लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ मा छनोट भएकी छिन्।
- ग्रामीण परिवेशबाट आएकी सन्ध्या अध्ययन र संगीतलाई सँगसँगै अघि बढाउँदै आफ्नो प्रतिभा निखारिरहेकी छिन्।
- उनको सांगीतिक सफलतामा परिवारको ठूलो साथ छ र उनलाई जिताउन सबैले भोट तथा समर्थन गर्नुपर्ने खाँचो छ।
रिदय भुसाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धन्चौरको माटोमा जन्मिएर राष्ट्रिय सांगीतिक मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी सन्ध्या आचार्य यतिबेला चर्चामा छिन्। लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ मा छनोट भएपछि उनको सांगीतिक यात्राले नयाँ उचाइ लिएको छ। सिजन ८ को एपिसोड ११ बाट छनोट भएकी सन्ध्या अहिले कोच मिलनको टिममा रहेर आफ्नो गायन प्रतिभा प्रस्तुत गरिरहेकी छन्।
धन्चौरजस्तो विकट ग्रामीण परिवेशमा जन्मिएर हुर्किएकी सन्ध्याले आफ्नो प्रतिभा र मेहनतका बलमा राष्ट्रिय मञ्चसम्मको यात्रा तय गर्नु आफैँमा गौरवको विषय बनेको छ। उनको यो सफलताले एउटा व्यक्तिको सपना मात्र होइन, ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई अवसर र प्रोत्साहन पाए राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ।
२५ वर्षीया सन्ध्या स्वर्गीय लालुप्रसाद आचार्यका चार सन्तानमध्ये कान्छी छोरी हुन्। गोविन्द, कमला, कल्पना र सन्ध्या गरी चार सन्तानमध्येकी कान्छी सन्ध्या सानैदेखि लगनशील, मेहनती र पढाइमा समेत अब्बल थिइन्। शिक्षा र संगीतलाई सँगसँगै अघि बढाउँदै आएकी उनले आफ्नो रुचि र प्रतिभालाई निरन्तर निखार्दै आज राष्ट्रिय मञ्चसम्म पुग्न सफल भएकी छन्।
सन्ध्याको सफलताको यात्रामा परिवारको साथ र अभिभावकको प्रेरणा पनि उत्तिकै महत्त्वपूर्ण छ। उनका स्वर्गीय बुवा लालुप्रसाद आचार्य परिवार, सन्तान र समाजका लागि सधैँ ऊर्जा र प्रेरणाका स्रोतका रूपमा रहनुभएको थियो। भारतीय सेनाबाट अवकाश प्राप्त उहाँले आफ्ना सन्तानको प्रगति र उज्ज्वल भविष्यका लागि कुनै कसर बाँकी राख्नुभएन। सन्तानले जीवनमा केही राम्रो गरून् र आफ्नो पहिचान बनाऊन् भन्ने उहाँको चाहना थियो।
आज सन्ध्याले राष्ट्रिय सांगीतिक मञ्चमा पाइला टेकिरहँदा उनका बुवाले देखेका सपना र परिवारले गरेको संघर्ष तथा लगानीको प्रतिफल पनि झल्किएको छ। उहाँ आज भौतिक रूपमा साथमा नभए पनि सन्ध्याको सफलतामा उहाँले दिनुभएको प्रेरणा, संस्कार र हौसलाको महत्त्वपूर्ण भूमिका रहेको छ।
सन्ध्याको सफलताले परिवारमा समेत खुसी र उत्साह थपेको छ। बहिनीको यो सफलताले सिंगो परिवारलाई थप उत्साहित बनाएको उल्लेख गर्दै उनका दाजु गोविन्द आचार्यले आगामी दिनमा सन्ध्याको थप प्रगतिका लागि परिवारका तर्फबाट आवश्यक सबै प्रकारका प्रयास र सहयोग निरन्तर रहने बताउनुभयो। बहिनीको प्रतिभा र मेहनतले आज परिवारसँगै जन्मभूमि धन्चौर र सिंगो अर्घाखाँचीको नाम चिनाउने अवसर सिर्जना गरेको भन्दै आगामी सांगीतिक यात्रामा पनि परिवारको साथ सधैँ रहने उहाँको भनाइ छ।
सन्ध्याको सफलताले आमा ज्ञानुकला आचार्य पनि निकै खुसी र उत्साहित हुनुहुन्छ। छोरीले सानैदेखि देखाएको लगनशीलता, मेहनत र संगीतप्रतिको रुचिले आज राष्ट्रिय मञ्चसम्मको यात्रा तय गरेकोमा उहाँलाई गर्व लागेको छ। छोरीले आफ्नो प्रतिभा अझै निखार्दै आगामी दिनमा थप सफलता हासिल गरोस् भन्ने आमाको चाहना छ। बुवाको अभावका बीच पनि परिवारको साथ, माया र आशीर्वादले सन्ध्यालाई अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास परिवारले लिएको छ।
हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँमा बस्दै आएकी सन्ध्या काठमाडौंमा समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययनसमेत गरिरहेकी छन्। उच्च शिक्षालाई निरन्तरता दिँदै संगीत क्षेत्रमा अघि बढ्नु उनको अर्को सकारात्मक पक्ष हो। अध्ययन र आफ्नो सांगीतिक रुचिलाई सँगसँगै अघि बढाउने उनको प्रयास प्रशंसनीय छ।
‘द भ्वाइस अफ नेपाल’ जस्तो लोकप्रिय राष्ट्रिय मञ्चमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेकी सन्ध्याका लागि यो यात्रा आफ्नो प्रतिभा देखाउने अवसर मात्र होइन, अर्घाखाँचीको कला, संस्कृति र पहिचानलाई देशभर चिनाउने माध्यमसमेत बनेको छ। हिमालयन टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको प्रतियोगितामा उनको सहभागिताले अर्घाखाँची, रुपन्देही तथा देश–विदेशमा रहेका नेपाली संगीतप्रेमीहरूमा उत्साह थपेको छ।
अब धन्चौरले प्रतिभाको सम्मान र संरक्षण गर्नुपर्छ
सन्ध्याको यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित हुनुहुँदैन। धन्चौरजस्तो ग्रामीण क्षेत्रबाट राष्ट्रिय मञ्चसम्म पुगेकी प्रतिभालाई आगामी दिनमा अझै अगाडि बढाउन स्थानीय समाज, जनप्रतिनिधि, संघसंस्था र सरोकारवाला सबैले आफ्नो दायित्व बुझ्न आवश्यक छ।
गाउँमा जन्मिएका र हुर्किएका प्रतिभाहरूलाई पहिचान गर्ने, उनीहरूको क्षमता प्रस्फुटनका लागि अवसर सिर्जना गर्ने र आवश्यक पर्दा आर्थिक, सामाजिक तथा नैतिक सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ। सन्ध्याको प्रतिभालाई अझै फुलाउन र फलाउन धन्चौरले के गर्न सक्छ, त्यसतर्फ अब गम्भीरतापूर्वक सोच्ने बेला आएको छ।
उनको सफलताले धन्चौरका अन्य बालबालिका तथा युवालाई पनि आफ्ना सपना पूरा गर्न प्रेरणा दिन सक्छ। त्यसैले स्थानीय तहदेखि सामाजिक संघसंस्था र सम्पूर्ण गाउँवासीले सन्ध्याको यात्रालाई आफ्नो गौरवको विषयका रूपमा लिनु आवश्यक छ।
सन्ध्यालाई भोट र समर्थन गरौँ
राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरिरहेकी अर्घाखाँचीकी छोरी सन्ध्या आचार्यलाई सफल बनाउन अहिले सबैको साथ आवश्यक छ। अर्घाखाँचीवासी, रुपन्देहीवासी, लुम्बिनी प्रदेशवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीले भोट, समर्थन र सकारात्मक प्रचारमार्फत उनलाई हौसला प्रदान गर्न सक्छौँ।
एउटा गाउँको माटोबाट उदाएकी प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गराउनु हामी सबैको साझा जिम्मेवारी हो। सन्ध्याको सफलता उनको मात्र नभई धन्चौर, भूमिकास्थान र सिंगो अर्घाखाँचीको गौरव बन्न सक्छ।
प्रतिभाको सम्मान गरौँ, मेहनतको कदर गरौँ र आफ्नै गाउँकी छोरीको सपनालाई सफल बनाउन हातेमालो गरौँ।
धन्चौरको माटोको प्रतिभालाई राष्ट्रिय रूपमा चिनाऔँ, सन्ध्या आचार्यको सांगीतिक यात्रामा सबैले साथ दिऔँ।


























