
- अमेरिकामा प्राविधिक खराबीका कारण १० हजारभन्दा बढी उडान रद्द भएका छन्।
- यसबाट १५ लाखभन्दा धेरै यात्रु अलपत्र परेका छन् र साइबर आक्रमणको सम्भावना छैन।
- हवाई सेवा प्रभावित भएपछि पूर्वाधार सुधारका लागि थप बजेटको माग गरिएको छ।
अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी)को सञ्चार प्रणालीमा आएको प्राविधिक खराबीका कारण रद्द हुने उडानको सङ्ख्या १० हजार नाघेको छ ।
सङ्घीय उड्ड्ययन प्रशासन (एफएएन)को आदेशपछि झण्डै चार घण्टा उडानहरू पूर्ण रूपमा रोकिएकोमा उडान रद्द हुने क्रम भने आज पनि चलेको हो । प्राविधिक समस्या समाधान भएर हवाई क्षेत्र पुनः सञ्चालनमा आइसकेको भए पनि चापका कारण कतिपय उडान अझै रद्द गर्नुपरेको बीबीसीले जनाएको छ ।
बीबीसी हिन्दीका अनुसार आजसम्म अमेरिकाका विमानस्थलहरूबाट हुने र बाहिरबाट आउने १० हजारभन्दा बढी उडानहरू रद्द हुँदा १५ लाखभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । निजी सञ्चार नेटवर्क अद्यावधिक गर्दा आएको प्राविधिक खराबीले यो अवस्था सिर्जना भएको हो ।
यसमा साइबर आक्रमणको कुनै सङ्केत नरहेको होमल्यान्ड सेक्युरिटी मन्त्रालयले जनाएको छ । थ्याङ्क्सगिभिङ पर्वको पूर्वसन्ध्यामा आएको यो संकटले हवाई यातायात क्षेत्र अस्तव्यस्त बनेको छ । फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार डेल्टा, अमेरिकन, युनाइटेड र साउथवेस्ट एयरलाइन्सका हजारौँ उडानहरू प्रभावित भएका छन् । उडान रद्द भएका यात्रुहरूले भने नियमानुसार टिकटको पूरा रकम फिर्ता पाउनेछन् ।
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणपछि सबै उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ को जनवरी मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा यस्तो अवस्था सिर्जना भएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाधार आधुनिकीकरणका लागि विधेयक छिटो पारित गर्न आग्रह सहित कंग्रेससँग ३० अर्ब डलर अतिरिक्त कोष माग गर्नुभएको छ ।


























