
- नेपाल प्रिमियर लिगमा पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
- हिजो भएको अर्को खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
- आज लिगमा कुनै खेल छैन र भोलि दुई वटा खेल हुने तालिका रहेको छ।
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता लुम्बिनी लायन्स अंकतालिकाको शीर्षस्थानमा पुगेको छ ।
हिजो भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो । जीतसँगै लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ ।
लुम्बिनीले यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । शनिवार चितवनसँगको खेल भने वर्षाका कारण रद्ध भएको थियो । दुवै टोलीले समान एक/एक अंक बाँडेका थिए ।
हिजो भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर भेटायो । त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यस्तै हिजो भएको अर्को खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।
एनपीएलमा आज बुधवार बिश्राम दिन रहेको छ । आज खेल हुने छैन । भोली बिहीवार लुम्बिनी लायन्स र जनकपुर बोल्टस् तथा काठमाण्डाै गोर्खाज र विराटनगर किंग्सबीच खेल हुने तालिका छ ।
आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।


























