काठमाण्डाै – प्रधानन्यायाधीश र केही न्यायाधीशहरूको नाम जोडेर पछिल्लो समय आएका समाचारप्रति सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्च अदालतमा बहालवाला सबै न्यायाधीशहरूको सहभागितामा आज बसेको बैठकले पछिल्ला घटनाक्रम र न्यायालयभित्र उठेका विषयहरूमाथि विस्तृत छलफल गरेको हो ।
बैठकले संविधान र कानूनको सर्वोच्चताप्रति आफूहरूको अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै यस विषयमा विना पूर्वाग्रह, निष्पक्ष एवम् स्वतन्त्र ढङ्गले छानबिन गर्न सम्बद्ध निकायसँग आग्रह गरेको छ । साथै कानूनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा पूर्णरूपमा सहयोग र जवाफदेही बन्न सर्वोच्च अदालत तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
न्यायपालिका आमनागरिकको आस्था र विश्वासमा टिकेको संस्था भन्दै अदालतले छानबिनको आधिकारिक निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमले समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
प्रकाशित र प्रसारित समाचारहरूबाट विचलित नभई आ–आफ्नो ठाउँबाट उच्च मनोबलका साथ न्यायिक कार्यमा क्रियाशील रहन सर्वोच्चले सम्पूर्ण न्यायाधीशलाई आह्वान गरेको छ ।


























