
- अर्घाखाँचीको भूमिकास्थानमा आज खुला क्रिकेट प्रतियोगिताको भव्य फाइनल खेल हुँदैछ।
- आज हुने सेमिफाइनल खेलका विजेता दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
- विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित पुरस्कार प्राप्त गर्नेछन्।
हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज भव्य फाइनल खेल हुने भएको छ। प्रतियोगिताको अन्तिम दिन उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको आयोजकले जनाएको छ।
आज बिहान हुने पहिलो खेलमा देउराली युवा क्लब र आयोजक टोलीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मालारानी युवा क्लब र देबिनगर युवा क्लबबीच खेल हुने खेल संयोजक सुरज पन्थीले जानकारी दिनुभएको छ। दुवै खेलबाट विजयी हुने टोलीबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।
सामाजिक तथा राजनीतिक व्यक्तित्व लिलबहादुर जिसीले खेलकुदले युवाहरूलाई एकताबद्ध बनाउनुका साथै स्थानीय क्षेत्रको पहिचान, पर्यटन प्रवर्द्धन र खेल प्रतिभाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ। उहाँले धन्चौरमा ठूलो पुरस्कार राशिको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ।
खेल आर्थिक संयोजक ऋषिकेश आलेले प्रतियोगितालाई सफल बनाउन खेलाडी, स्थानीयवासी र सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै अन्तिम दिनका खेलहरू पनि उत्साहपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
आर्थिक संयुयोजक आलेले प्रतियोगिता सञ्चालनका लागि आर्थिक तथा व्यवस्थापकीय पक्षमा सहयोग गर्ने सम्पूर्ण सहयोगी र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
मुनलाइट युवा क्लबका अध्यक्ष सन्दीप गैरेले प्रतियोगिताले युवाहरूबीच आपसी सद्भाव, मित्रता र सहकार्यको भावना विकास गर्नुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको बताउनुभएको छ।
त्यस्तै कैलाश गैरेले खेलकुदको माध्यमबाट धन्चौरको पहिचान फराकिलो बनाउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। धन्चौर युवा समाजका अरुण घमले युवाहरूलाई खेलकुदमा जोड्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभएको छ।
सुदन पाण्डेले स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूको सक्रियता बढाउन प्रतियोगिताले सकारात्मक सन्देश दिएको बताउनुभएको छ । भने दीपेश भट्टराईले प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना र आपसी एकता बढाउन सहयोग पुर्याउने बताउनुभएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाखसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ५० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
आज हुने फाइनल खेलपछि विशेष कार्यक्रमका बीच विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिनेछ। पुरस्कार वितरण तथा समापन कार्यक्रमसँगै प्रतियोगिता औपचारिक रूपमा सम्पन्न हुने आयोजकले जनाएको छ।


























