
- अर्घाखाँचीको धन्चौरमा सञ्चालित खुला क्रिकेट प्रतियोगिताको उपाधि मालारानी क्रिकेट क्लबले जितेको छ।
- विजेता मालारानीले नगद एक लाख रुपैयाँ र उपविजेता आयोजकले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
- युवाहरूको खेल प्रतिभा पहिचान र आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।
हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौरमा सञ्चालित खुला क्रिकेट प्रतियोगिताको उपाधि मालारानी क्रिकेट क्लबले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा आयोजक धन्चौर युवा समाजलाई पराजित गर्दै मालारानीले उपाधि चुमेको हो।
प्रतियोगितामा आयोजक धन्चौर युवा समाज उपविजेता बनेको छ। उपाधिसँगै मालारानीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धन्चौर युवा समाजले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सन्दीप गैरेको अध्यक्षता तथा भूमिकास्थान नगरपालिका–१० का वडा अध्यक्ष खगेश्वर पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कृष्ण गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने शेशकान्त गैरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
समापन कार्यक्रममा प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगीहरूप्रति आयोजकका तर्फबाट धन्यवाद व्यक्त गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरिएको आर्थिक संयोजक ऋषिकेश आले (विप्लव) ले बताउनुभयो।
स्थानीय युवाहरूको खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने, खेलकुदमार्फत आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने तथा धन्चौर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।



























