
- प्रलयका बेला मानिसहरू भौतिक वस्तु बचाउन तल्लीन हुन्छन् तर प्रेमिल स्मृतिलाई उपेक्षा गर्छन्।
- सभ्यताको इतिहासमा युद्ध र शक्तिलाई स्थान दिए पनि प्रेमका भावनाहरू सधैं ओझेलमा पर्छन्।
- वस्तुभन्दा स्मृति बढी महत्वपूर्ण हुन्छ र स्मृतिको विनाश नै वास्तवमा एउटा ब्रह्माण्डको अन्त्य हो।

निम्बतरु
प्रलय आउँदा
कसैले शंख बचाउनेछ, कसैले वेद,
कसैले मन्दिरको गजुर समातेर भगवानलाई सुरक्षित राख्न खोज्नेछ।
कसैले सुन गाड्नेछ माटोमुनि,
कसैले आफ्नो नाम इतिहासभित्र।
तर
कसैले पनि बचाउने छैन त्यो पुरानो प्रेमपत्र,
जसको कुनामा अझैँ सुकेको छैन एउटा प्रतीक्षाको आँसु।
वर्षाले
पहिला प्रेमपत्र भिजाउँछ,
आगोले
पहिला प्रेमपत्र जलाउँछ,
कीराहरूले
पहिला प्रेमपत्र खान्छन्।
किनकि उनीहरूलाई थाहा छ—
सबैभन्दा कमजोर वस्तु कागज होइन,
स्मृति हो।
कुनै दिन
संग्रहालयहरू भरिनेछन्
राजाहरूका तरबारले,
सन्तहरूका वस्त्रले,
युद्धका अवशेषले।
तर त्यहाँ कतै राखिएको हुने छैन
त्यो कागज
जसमा लेखिएको थियो—
“फर्केर आउनु।”
मानिसहरू
सभ्यता बचाउने कुरा गर्छन्,
तर प्रेमलाई कहिल्यै सभ्यताको रूपमा मान्दैनन्।
जबकि
एउटा प्रेमपत्र हराउनु भनेको
एउटा सम्पूर्ण युग हराउनु हो।
मलाई डर आगोको छैन,
पानीको छैन,
प्रलयको पनि छैन।
मलाई डर छ—
कुनै दिन
तिमीलाई नै त्यो प्रेमपत्रको अक्षर बिर्सिनेछ कि भनेर।
किनकि
कागज जल्दा एउटा वस्तु मर्छ,
तर
स्मृति मर्दा एउटा ब्रह्माण्ड।

























