पहिरोका पूर्व सङ्केतहरु :
- जमीन चिरा पर्नु वा भासिनु ।
- पानीका मूल आकश्मिक रूपमा बढ्नु, धमिलो आउनु, सुक्नु वा अन्यत्र सर्नु ।
- साना खोल्सा वा ठूला खोला एक्कासी सुक्नु वा बढ्नु ।
- भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु वा ढुङ्गा माटो खस्न थाल्नु ।
- रुख वा बिजुलीको पोल ढल्किनु वा बाङ्गो हुनु । विशेषगरी पहाड र भिरालो जमिनमा रहेका रुख तथा बिजुलीका पोल तलतिर ढल्किनु ।
- घरहरु ढल्किनु वा घरका झ्याल–ढोका लगाउन अप्ठ्यारो हुनु । सजिलै गरी लगाएको झ्याल ढोकाको चुकुल एक्कासी खोल्न वा लगाउन गाह्रो हुनु ।
- जमीन मुनिबाट कट्कट् गरेर अस्वाभाविक आवाज आउनु ।
यस्ता सङ्केत देखिएमा पहिरोको जोखिम बढेको छ भनेर थाहा पाउनुपर्छ । यस्तो बेलामा आफ्नो परिवार चाँडै सुरक्षित ठाउँमा जानुपर्छ भने आसपासका सबैलाई जानकारी गराउनुपर्छ । यस्तो जोखिमबारेमा सुरक्षा निकाय, उद्धार टोली वा पालिकालाई जानकारी गराइहाल्नुपर्छ । पहिरोका पूर्व सङ्केत भएमा तत्कालका लागि जनधनको क्षती रोक्नु वा घटाउनतर्फ प्रयास गर्नुपर्छ । विस्तारै पहिरो रोकथामका काम पनि गर्न सकिन्छ । कुनै ठाउँमा यसअघि कुनै समयमा पहिरो गएको छ र अहिले माथि चर्चा गरिएका सङ्केत देखिए भने अझ बढी सतर्क हुनुपर्छ ।
पानी रोकिएपछि पनि पहिरो जान सक्छ
सामान्यतया ठूलो पानी परिरहेको बेला मात्रै पहिरोको जोखिम हुन्छ भन्ने बुझाइ हुन्छ । तर यो गलत बुझाइ हो । पानी रोकिएको लामो समयपछि पनि पहिरो जान सक्छ । दर्के पानी र चर्को घामले पहिरो ल्याउँछ भन्ने भनाइ पनि छ । ठूलो पानी परेपछि घाम लागे पनि पहिरोको जोखिम हुन्छ । सामान्यतया जमिनको माथिल्लो भागमा बग्ने पहिरो ठूलो पानी परिरहेको बेला जाने सम्भावना धेरै हुन्छ । तर ठूलो पहिरो लामो समय पानी परेर जमिन भिजेपछि वा पानी विस्तारै जमिनको तल्ला भागमा पुगेपछि पानी पर्न रोकिएको बेलामा पनि जान सक्छ । त्यसैले ठूलो पानी पर्दै गर्दा मात्रै पहिरोको जोखम हुन्छ भन्ने बुझ्नुहुन्न ।
जोखिमयुक्त ठाउँको पहिचान
यसअघि कुनै समयमा पहिरो गएको थाहा छ भने त्यो ठाउँ पहिरोको जोखिममा छ भन्ने बुझ्नुपर्छ । यस्तै खोला घुमेको माथिल्लो भागमा बस्ती छ भने त्यहाँ खोलाले तल्लो भाग खोतलेर माथि पहिरोको जोखिम बढाएको हुन सक्छ । त्यस्ता ठाउँमा समयमै ढुङ्गा थुपार्ने, पर्खाल लगाउने लगायतका काम गरेर जोखिम घटाउन सकिन्छ । यस्तै जमिनमा चिरा परेको, भासिएको, पहाडको माथिल्लो भागमा कुप्रो भएर बसेको संरचना, ठूला ढुङ्गा वा ढिस्को तलतिर फर्केर बसेको छ भने त्यहाँ पहिरोको जोखिम छ भनेर बुझ्नुपर्छ । यस्तै डोजर वा एक्साभेटर प्रयोग गरेर नयाँ संरचना निर्माण गरिएको ठाउँको आसपास पनि जोखिम हुनसक्छ । त्यस्ता ठूला उपकरणले जमिन चलायमान भएर कमजोर पार्ने भएकाले पहिरोको जोखिम बढाएको हुनसक्छ ।
अहिलेबढी सतर्क हुनुपर्ने समय हो
अबको झन्डै तीन महिना धेरै पानी पर्छ । पानी पर्दा पहिरोको जोखिम बढ्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । पहिरोका कुनै सङ्केत देखिएमा तत्कालै सुरक्षित ठाउँमा जानु बुद्धिमानी हुन्छ । यस्तै पहिरोको जोखिमबाट बच्न वर्षायाममा भलको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ । समुदाय वा घर नजिकै जमिनमा चिरा परेको छ भने चिम्ट्याइलो माटो हालेर पुर्ने वा प्लास्टिकले छोप्ने गरिहाल्नुपर्छ । पहिरोको जोखिम भएको बस्ती हो मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायमा फोन गरेर सोध्ने गर्न सकिन्छ । ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि त्यो समय सुरक्षित ठाउँमा गएर बस्नुपर्छ । मुख्य कुरा, आफू बसेको ठाउँ बाढी, पहिरो वा अन्य विपद्को दृष्टिकोणले कति जोखिम हो भनेर थाहा पाउनुपर्छ र त्यसै अनुसारको सतर्कता अपनाउनुपर्छ ।
(भूगर्भविद् डा. सुवोध ढकाल र प्रकोपविज्ञ श्रीकमल द्विवेदीसँगको कुराकानीमा आधारित)