१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

पाल्पा बगनासकाली गाउँपालिका चालु आर्थिक बर्षका सबै योजना सम्पन्न

Workplace

पदम गैरे पाल्पा चालु आर्थिक बर्ष सकिन एक महिना बाँकी रहेदा स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयलाई काम सक्ने हतारो छ तर जिल्लाको बगनासकाली गाउँपालिका भने चालु आवको काम एक महिनाअघि नै सकेर नयाँ योजना निर्माणमा लागेको छ ।

बगनासकाली गाउँपाालिकाले वैशाखभित्रै विकासका काम सकेर नयाँ योजना निर्माणमा लागेको छ । असारे विकास रोक्ने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि नै योजनाबद्ध काम गरेपछि बगनासकालीले वैशाखभित्रै सबै योजनाको काम सकेको हो ।

बगनासकाली गाउँपालिकाले नौ वटै वडाका वडास्तरीय योजना, पालिकास्तरीय योजना तथा सङ्घ र प्रदेशसँगको सहकार्यमा सञ्चालित योजना वैशाखभित्रै सकेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले योजनाको काम सकेर प्राविधिक मूल्याङ्कन र अनुगमनपछि उपभोक्ता समितिलाई भुक्तानी गरिएको जानकारी दिनुभयो । असारमा विकासको काम गर्ने प्रवृत्तिलाई रोक्न आवको सुरुदेखि नै योजनाबद्ध रूपमा काम गरिएको उहाँले बताउनुभयो ।

चालु आवमा बगनासकाली गाउँपालिकाले उपभोक्तामार्फत चार सय योजना सञ्चालन गरेको थियो । त्यस्तै १६ वटा योजना ठेक्कामार्फत गरेको थियो । योजना समयमै सम्पन्न गर्नका लागि पालिकाले वडा वडामा गत मङ्सिरअघि घुम्ती सेवामार्फत योजना सम्झौता र प्राविधिक स्टिमेटको काम गरेको थियो ।

उपभोक्ताले गरेका काम २०८० चैत मसान्तभित्रमा सक्ने सम्झौता भएको थियो भने ठेक्कामार्फत गर्ने योजना वैशाख १५ भित्र सक्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पालिकाले समयमै काम गरेर आगामी आवका लागि योजना सङ्कलनको काम गरिरहेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । असारमा पालिकाकै योजना बनाउने हतार हुने र असारमा हुने काम गुणस्तरीय नहुने निष्कर्षका साथ समय तालिका बनाएर काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकामा जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा समयमै योजनाको काम सम्पन्न भएको छ ।”

योजना समयमै सम्पन्न भएका उपभोक्ताको खातामा पैसा भुक्तानी भइसकेको छ । कतिपय प्रदेश र सङ्घसँगको सहकार्यमा भएका योजनाको भने रकम नहुँदा भुक्तानीमा समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।

समयमै योजनाको काम सकिएपछि पालिका आगामी आव २०८१/८२ को योजना निर्माणमा लागेको छ । बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले चालु आवको विकासको काम सकिएको र आगामी आवका लागि बस्ती तहबाट योजना सङ्कलनको काम भइरहेकोे बताउनुभयो । पालिकाको सुशासन कायम गर्न समयमै योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्न तालिका बनाएर काम गरेको प्रवक्ता थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै