पदम गैरे पाल्पा । रगतको अभाव हुन नदिन पाल्पामा ब्लड बैँक स्थापनाका लागि अभियान सञ्चालन गरिएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रगतको अभाव हुन नदिन ब्लड बैँक स्थापनाका लागि अभियान सुरु गरेको हो । शाखाले जिल्लास्थित स्थानीय तह, राजनैतिक दल, रेडक्रस मातहतका समिति, विभिन्न सङ्घसंस्थाहरूसँग छलफल चलाएको हो ।
ब्लड बैँक स्थापनाका लागि तीन करोड बढी लागत लाग्ने र त्यसका लागि आर्थिक स्रोत जुटाउने कामको सुरुआत भएको शाखाका सभापति बावुराम कार्कीले बताउनुभयो । स्थानीय र प्रदेश सरकारससँग पूर्वाधार स्थापनाका लागि सहयोगको लागि आग्रह गरिएको उहाँले बताउनुभयो । ब्लड बैँक स्थापनाका लागि पहिलो चरणमा पूर्वाधार निर्माण गर्ने र दोस्रो चरणमा त्यसलाई नियमित सञ्चालन गर्न सुनिश्चित हुने गरी रकम सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।
शाखाले पाँच हजार बढी मानिसको रगत पहिचान गर्ने, रगत दान गर्न प्रोत्साहन र जनचेतना अभिवृद्धि गर्ने, बिरामीका लागि आवश्यक रगत सङ्कलन गर्न व्यवस्थापन समूह बनाउने कार्य गर्ने योजना बनाएको छ ।
यस्तै ब्लड बैँक स्थापनाको महत्वपूर्ण काम रकम जुटाउनका लागि शाखाले विभिन्न क्षेत्रसँग छलफल गरिरहेको जनाएको छ । शाखाले चन्दा सङ्कलनलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गरिरहेको शाखाका सदस्य डा. झपेन्द्र ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ब्लड बैँक स्थापना हुनुमात्र ठूलो नभएर त्यसलाई निरन्तर सञ्चालन गर्नु हो भन्ने मान्यताका साथ शाखा लागेको छ ।’ विभिन्न व्यक्ति, समूह र संस्थाबाट स्वतस्फूर्त रुपमाा दान सङ्कलन गर्ने कार्य अगाडि बढाएको शाखाले जनाएको छ ।
पाल्पाका चार वटा अस्पतालमा दैनिक सय पिन्ट बढी रगतको आवश्यक छ । यद्यपी यसको परिपूर्ति हुन नसक्दा विभिन्न व्यक्तिसँग हारगुहार गर्नुपरेकाो अस्पतालहरूले जनाएका छन् । रगत अभावमा अहिले पनि बुटवल, भैरहवा, नवलपरासी दौडिनुपर्ने अवस्था रहेको छ ।
पाल्पामा ब्लड बैँक स्थापनाका लागि अभियान
तपाईको प्रतिक्रिया