८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्योलमै, कोशीका मुख्यमन्त्री हटाउन सङ्कल्प प्रस्ताव दर्ता

Workplace

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन । गएकाे आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा परेको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन ।

नागरिक उन्मुक्ति पार्टी शुरुदेखि नै दुई समूहमा विभाजित छ । एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन् ।

केन्द्रीय सत्ता गठबन्धन विपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएको छ । कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले आफूले अध्ययन गरेर निर्णय गर्ने बताउनुभएको छ ।

यसैबीच सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्रीलाई हटाउन सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हिजो कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् । दुवै दलले यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । विश्वासको मत माग्नका लागि निर्देशन दिन सङ्कल्प प्रस्ताव दर्ता गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो । प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ ।

यसअघि दुवै दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका थिए । उनीहरूको मागअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गर्नुभएको छ । कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । अब उपधारा २ मा फर्किन नसकिने र मध्यावधितिर जाने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुुहुन्छ । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । काँग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विस्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो । गठबन्धनमा बहुमत रहेकाले उहाँले विस्वासको मत पाउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै