बाग्लुङ – आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।
बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाण्डाै, पोखरा जाने गाडी ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिनुभयो । बाग्लुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोट लगायतका ठाउँमा पुग्ने गाडी निसीखोलामा अलपत्र परेको उहाँको भनाइ छ ।
हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताउनुभयो ।निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताउनुभयो । भाेलि बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उहाँको भनाइ छ । उहाँका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ ।
हिमपातका कारण ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले