काठमाडौँ, २४ पुस : समाजवादी प्रेस सङ्गठनले राष्ट्रिय समाचार समिति (रासस)बाट अवधी भाषामा समाचार सेवा सुरु भएकोमा स्वागत गरेको छ ।
सङ्गठनका तर्फबाट महासचिव रामकुमार एलनले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सोमबारदेखि प्रारम्भ भएको अवधी भाषामा समाचार सेवाका लागि हार्दिक आभार प्रकट गरेको हो । “संविधानले प्रत्याभूत गरेको सूचनाको हक आमसर्वसाधारणलाई निःशुल्करुपमा उपलब्ध हुनुपर्छ भन्ने मान्यतामा हाम्रो सङ्गठन अडिग छ”, विज्ञप्तिमा भनिएको छ, “यही क्रममा राष्ट्रिय भाषाका समाचार सेवा राज्यबाटै दिनुपर्छ भनेर हामीले उठाउँदै आएको आवाजका सम्बोधन अवधी भाषाका समाचार सेवाबाट आरम्भ भएको छ ।”
अवधी भाषामा समाचार सेवा आरम्भ लोकतन्त्र, सङ्घीयता र समावेशीता स्वीकारसँगै कार्यान्वयनको चरण पनि बनेको सङ्गठनको भनाइ छ । “हाम्रो सङ्गठनले विभिन्न भाषाभाषीका सञ्चारमाध्यम जीवन्त राख्न राज्यका तीनै तहबाट यथोचित प्रयास हुनुपर्छ भनेर आवाज उठाइरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले अवधी भाषाको समाचारका लागि दिएको योगदानका पनि कदर गर्दछौँ ।”
अवधी भाषामा समाचार सेवा आरम्भसँगै यसको गुणस्तरीयता र जनमुखी समाचार सेवा प्रवाहमा कमी नआओस् भन्ने सङ्गठनले कामनासमेत गरेको छ । अन्य भाषाभाषीका समाचार सेवा आरम्भको पनि बाटो खुलेकाले यसतर्फ पनि रासस व्यवस्थापनले आगामी दिनमा सार्थक प्रयास गर्नेमा सङ्गठनले विश्वास व्यक्त गरेको छ