१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

पाल्पामा महिलाले नेतृत्व गरेको सहकारी मार्फत २ करोड भन्दा बढीको खसी बोका बिक्रि

Workplace

पदम गैरे पाल्पा l महिलाले नेतृत्व गरेको सहकारीले दसैँमा दुई करोड बढीका खसीबोका बिक्री गरेका छन् । महिलाले नेतृत्व गरेको जिल्लाका चार वटा सहकारीहरूले दसैँको मुखमा दुई करोड १० लाख रुपियाँको खसीबोका र माउ बिक्री गरेका हुन् ।
तानसेनस्थित मिलनसार महिला उद्यमी सहकारी संस्था लिमिटेडले दसैँका बेलामा मात्रै झन्डै एक करोडको खसीबोका र माउ बाख्रा बिक्री गरेको जनाएको छ । सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीका अनुसार दसैँको मासुका र माउ बाख्रा गरी ९८ लाखको बिक्री भएको छ । उहाँले भन्नुभयो, ‘सहकारीले खसीबोका सङ्कलन केन्द्र सञ्चालन गरेर बिक्रीको प्रबन्ध मिलाएको छ ।’

यस्तै रम्भा गाउँपालिका–३ स्थित उपहार सामाजिक उद्यमी महिला सहकारीले ४८ लाख २७ हजारको खसीबोका बिक्री गरेको छ । सोही गाउँपालिकाको पीपलडाँडा सामाजिक उद्यमी महिला सहकारीले ३४ लाख ५६ हजारको खसीबोका बिक्री गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख मीनबहादुर कार्कीले बताउनुभयो । रम्भाका महिला मात्र आबद्ध रहेको दुई वटा सहकारीले दसैँमा मात्र ८३ लाखको खसीबोका बिक्री गरेको कार्कीले जानकारी दिनुभयो ।

दसैँमा मात्र कम्तीमा एक महिलाले खसिबोका बिक्री गरेर ५० हजार देखि एक लाख ८० हजारसम्म आम्दानी गरेको उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापन कृष्णमाया पाडेँमगरले बताउनुभयो । दसैँपछि पनि खसिबोका बिक्री गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै पूर्वखोला गाउँपालिका–१ सिकुवास्थित मनकामना महिला उद्यमी सहकारी संस्थाले दसैँका बेलामा मात्र दुई सय बढी खसीबोका बिक्री गरेको छ । सहकारी संस्थामा आबद्ध महिलाहरूले हुर्काएका खसिबोका दसैँका समयमा बिक्री गरेर २९ लाख ६६ हजार आम्दानी गरेको सहकारीकी सहायक व्यवस्थापक यानुमाया आलेले बताउनुभयो । उहाँले सबैभन्दा राम्रो गर्ने महिलाले वर्षमा चार लाखको खसिबोका बिक्री गरेको जानकारी दिनुभयो ।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाबाट उत्पादनका आधारमा अनुदान दिन थालेपछि व्यावसायिक बाख्रा पालनमा यहाँका महिला आकर्षित भएका छन् । रम्भा गाउँपालिकाबाट खसी र बोकाको मासुमा प्रतिकिलो ५० रुपियाँ अनुदान पाएको किसानले बताएका छन् । यहाँका सहकारीले बिक्री गरेका खसिबोका जिल्लाको तानसेन, रामपुर, पोखरा, वालिङ, बुटवल, भैरहवा जाने गरेको छ ।

किसानलाई समूहमा आबद्ध बनाई खोर व्यवस्थापन, नस्ल सुधार, उन्नत जातको घाँस विकास, रोग तथा परजीवी नियन्त्रण कार्यलाई व्यवस्थापन गरेपछि व्यावसायिक बाख्रापालनमा सुधार हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै