९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

नदिको किनारमा सुन खाेज्न हिँडे बाेटे

Workplace
unn.prixa.net

तनहुँ – दशैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० जनाभन्दा धेरै बोटेहरू सुनको कणकाे खोजीमा त्रिशूली नदीकाे किनारातर्फ लागेका छन् । 

‘दशैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालिस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिवार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारातर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतवार बिहानैदेखि सुन खोज्ने काम गर्नुपर्ला ।’

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताउनुभयो । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ ।

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिनुभयो ।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुग्नुभएका कमल बोटेले बताउनुभयो । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार रुपैयाँ बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिनुभयो ।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताउनुभयो । करिब ४५/५० दिन सुन चालेर घर फर्किने गरेको उहाँको भनाइ छ ।

‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उहाँले भन्नुभयो, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५/३० हजार रुपैयाँ हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाउनुभयो । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै