

काठमाण्डाै – लामो तथा मध्यम दूरीमा उभिएर यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरे पनि कतिपय यात्रुलाई उभिएरै यात्रा गर्नुपर्ने बाध्यता छ । दशैँ मनाउन जाँदा जस्तै फर्किँदा पनि सिट नपाएर उभिनुपरेको यात्रुको गुनासो छ ।
काठमाण्डौसँग सिमाना जोडिएका जिल्लाहरूबाट काठमाण्डौ चल्ने गाडीमा यस्तो समस्या धेरै छ । यसरी उभिएर यात्रा गर्नेहरूलाई सिटमा बस्न नपाउँदाको कष्टसँगै काठमाण्डौको नाकामा पुगेपछि अर्को सास्ती थपिन्छ । नाकामा प्रहरीले जाँच गर्ने भएकाले त्योभन्दा केही वर नै गाडीवालाले यात्रुलाई गाडीबाट ओरालेर हिँडाउने र जाँच भैसकेपछि परबाट फेरि गाडी चढाउने गर्छन् । जाँच गर्ने ठाउँमा ट्राफिक प्रहरीले यात्रु उभिएको देखेमा कारबाही गर्ने भएकाले यस्तो गर्नुपरेको गाडीवालाको भनाइ छ ।
सिट क्षमताभन्दा बढी यात्रु राखे पनि ट्राफिक प्रहरीलाई केही रकम दिएपछि कारबाही भोग्न नपर्ने कतिपय गाडीवालाहरू बताउँछन् । दशैँको बेला नागढुङ्गा नाकामा यसैगरी ट्राफिक प्रहरीलाई रकम दिने गरेको उनीहरूको भनाइ छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल भने यो आरोप मात्रै भएको दाबी गर्नुहुन्छ । अनुगमनका क्रममा अहिलेसम्म ट्राफिक प्रहरीले रकम असुली गरेको नभेटिएको र भेटिएमा कारबाही हुने पनि उहाँले बताउनुभयो । उभिएर यात्रा नगर्न र सिट भएको गाडीमा बसेरै यात्रा गर्न उहाँको अनुरोध छ ।