
- भूमिकास्थान–१० धन्चौरमा आयोजित पुरुष खुला भलिबल प्रतियोगितामा खाँचिकोट युवा क्लब प्रथम भएको छ।
- प्रतियोगितामा आयोजक देउराली युवा क्लब दोस्रो र घोरबन्दा युवा क्लब तेस्रो भई पुरस्कार प्राप्त गरेका छन्।
- स्थानीयस्तरमा खेलकुदको विकास र भाइचारा बढाउने उद्देश्यले आयोजित सो प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।
हृदय भुसाल अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित देउराली युवा क्लबको आयोजनामा सञ्चालित पुरुष खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सन्धिखर्क नगरपालिका–७ खाँचिकोट युवा क्लब प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।
प्रतियोगितामा आयोजक देउराली युवा क्लब दोस्रो भएको छ भने शितगंगा नगरपालिका–२ सितापुरस्थित घोरबन्दा युवा क्लब तेस्रो भएको क्लबका अध्यक्ष पदम भट्टराईले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने खाँचिकोट युवा क्लबले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै दोस्रो हुने आयोजक देउराली युवा क्लबले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने घोरबन्दा युवा क्लबले नगद ११ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक सुधीर नेपालीले जानकारी दिनुभयो।
जिल्लाका विभिन्न वडा तथा छिमेकी गुल्मी जिल्लाबाट समेत खेलाडी टोलीहरूको सहभागिता रहेको प्रतियोगिता भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको भुवन क्षेत्रीले बताउनुभयो। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
प्रतियोगिताको समापन कार्यक्रममा भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेले विजेता तथा सहभागी खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गाउँस्तरमा यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयो। खेलकुद क्षेत्रको विकासका लागि आफूहरूको सधैँ साथ र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा भूमिकास्थान–१० का वडा सदस्य टामलाल भट्टराई, पत्रकार तथा समाजसेवी हृदय भुसाल, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजन गुरुङलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितालाई आर्थिक सहयोग गर्ने सहयोगदाता तथा विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान गरिएको भुवन क्षेत्रीले जानकारी दिनुभयो।
क्लबका अध्यक्ष पदम भट्टराईको अध्यक्षता, सुधीर नेपालीको स्वागत मन्तव्य र भुवन क्षेत्रीको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगिताले धन्चौर क्षेत्रमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको अपेक्षा गरिएको छ ।



























