
- सोच राख्नु मात्र पर्याप्त छैन त्यसलाई कार्यरूपमा उतार्न आवश्यक छ।
- सफलता प्राप्त गर्न असफलताका अनुभवहरूलाई जोडेर अघि बढ्नुपर्छ।
- कल्पनाको बीउलाई कर्मको माटोमा रोपेर मात्र सृजना सम्भव हुन्छ।

निम्बतरु
सोच सबैको हुन सक्छ।
आकाशमा बादलजस्तै—
जो जहाँ पनि जन्मिन सक्छ,
जुनसुकै टाउकोमाथि पनि तैरिन सक्छ।
तर क्रियसन कमैले गर्छन ?
सोचले मात्रै हुदैन
क्रियसन चाहिन्छ
न्यून स्तरको चेतनाले
माइण्डसेट त झन् कता हो कता रहन्छ
त्यो कुनै किताबको अध्याय होइन,
न कुनै मोटिभेसनल भिडियोको शीर्षक।
त्यो त मस्तिष्कको भित्री जंगलमा आफैले आफैँलाई भेट्ने दुर्लभ घटना हो।
धेरैले सपनाको फोटो खिच्छन्,
ऊ सपनाको कंकालमा मासु चढाउँछ।
धेरैले योजना बनाउँछन्,
ऊ योजनाको धुलो खाएर बाटो जन्माउँछ।
उसको खल्तीमा सफलताका प्रमाणपत्रभन्दा बढी असफलताका टुक्राहरू छन्,
र ती टुक्राहरूलाई जोडेर उसले आफ्नै ब्रह्माण्ड बनाएको छ।
ऊसँग कुनै जादु छैन, कुनै गुप्त मन्त्र छैन।
फरक यत्ति हो—
जहाँ धेरै सोचहरू मनको गोदाममै थन्किन्छन्,
ऊ तिनलाई बाहिर निकाल्छ,
घाममा सुकाउँछ,
हावा लगाउँछ,
र जीवित प्राणीझैँ संसारमा छोडिदिन्छ।
उसले बुझेको छ—
कल्पना एउटा बीउ मात्र हो,
क्रियसन त्यसको रूख हो,
र माइण्डसेट त्यो अदृश्य माटो
जहाँ बीउले आफूमाथिको ढुङ्गा पन्छाएर
पहिलोपटक उज्यालो देख्छ।
त्यसैले भीडले कहिलेकाहीँ अर्धविश्वास,
अर्धईर्ष्या र अर्धविस्मयले भन्छ—
“ओ अलग ही लेभलको बन्दा है।”
तर ऊ मुस्कुराउँछ।
किनकि उसलाई थाहा छ—
ऊ अलग लेभलको होइन,
ऊ केवल त्यस्तो मान्छे हो
जसले सोचलाई सपना भएर मर्न दिएको छैन।

























