
- वैदेशिक रोजगारीका लागि मरुभूमि गएका नेपाली श्रमिकहरू ऋण र भोकको भारी बोकेर युद्धको चपेटामा परेका छन्।
- युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको जीवन कठिन बन्दै गएको र उनीहरूको मृत्यु केवल सरकारी तथ्याङ्कमा सीमित हुन पुगेको छ।
- श्रम बेचेर शान्ति खोज्ने बाध्यात्मक परिस्थितिले शासकहरूको अमानवीय व्यापार र श्रमिकको पीडालाई उदाङ्गो पारेको छ।

निम्बतरु
फलामका पखेटाहरूमा चढेर
जब एउटा थकित मानिस ‘मरुभूमि’ ओर्लन्छ,
उसले आफ्नो निधारमा स्वदेशको माटो होइन
ऋणको तमसुक र भोकको नक्सा बोकेको हुन्छ ।
त्यहाँ, जहाँ सूर्यले तातो सिसा ओकल्छ,
उसको पसिना— एउटा नचिनिएको रेमिट्यान्स बनेर
काठमाडौँका अग्ला महलहरूको जगमा सिमेन्ट झैँ जमिदिन्छ
तर अचानक—
त्यो नीलो आकाशमा चीलहरू होइन,
बारुद बोकेका धातुका गर्जनहरू सुनिन्छन् ।
‘लेबनान’का भित्ताहरूमा टाँसिएका छन्—
बिर्सिएका सपनाका टुक्राहरू,
र ‘इजरायल’को काँडेतारमा अड्किएको छ
एउटा नेपाली युवकको रगत लागेको नागरिकता ।
बुद्धको देशबाट गएको त्यो मानिस
अहिले ‘बंकर’ भित्र अक्षरहरू खोजिरहेछ,
जहाँ ‘युद्ध’ कुनै सिनेमाको पर्दा होइन—
प्रत्येक पलको एउटा भयानक अस्तित्व हो ।
बाकसमा फर्किनेहरूका लागि
त्यहाँ कुनै विशेष शोक-गीत छैन,
मात्र एउटा तथ्याङ्क छ—
जो मन्त्रालयका दराजहरूमा धुलो बनेर थुप्रिन्छ ।
ए मरुभूमिको तातो बालुवा !
भनिदेऊ ती शासकहरूलाई—
जसले श्रमको विनिमयमा मृत्युको व्यापार गरिरहेछन्,
कि एउटा श्रमिकको मुटुमा चल्ने धड्कन
कुनै मेसिनको पार्टपुर्जा होइन ।
यो युद्ध कसको हो ?
यो रगत कसको हो ?
जब मानिस आफैँलाई बेचेर शान्ति किन्न खोज्छ,
अनि बल्ल—
इतिहासको ऐनामा एउटा ‘नयाँ सारथी’ को विद्रूप अनुहार देखिन्छ ।

























