बाबुराम ताम्राकार (रसाइली)
१८ असाेज २०८२, मालारानी । श्री शान्ति माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज मालारानी ५ बागीकाे आयाेजनामा साविक अन्तर वडा स्तरीय भलिबल प्रतियाेगिताकाे उपाधि साविक बाँगी ४ ले हात पारेकाे छ ।
शनिबार भएको फाइनल खेलमा साविककाे अर्घा ३ लाई सोझो सेटमा पराजित गर्दै साविक बाँगी ४ ले १५ हजार रुपैयाँ नगद पुरस्कार सहित उपाधि हात पारेको हो । भूतपूर्व विद्यार्थी समाज मालारानी ५ बागीकाे २० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा साविक बाँगीका १ देखि ९ वडाकाे ९ वटा टिमले भाग लिएका थिए । उपाधि विजेता बाँगी ४ ले १५ र उपविजेता साविक अर्घा ३ ले १० हजार रुपैयाँ पुरस्कार पाए भने तृतीय स्थान प्राप्त गर्न सफल साविक बाँगी ५ ले ८ हजार नगद सहित सम्पुर्ण विजेतालाई मेडल र प्रमाण प्रदान गरिएकाे हाे । त्यस्तै खेलमा उत्कृष्ट हुने खेलाडी गाविन्द बस्नेतलाई ट्रफिले सम्मान गरिएकाे हाे ।
‘खेलाडीभित्र लुकेको क्षमतालाई बाहिर ल्याउने माध्यमको रुपमा यस्ता प्रतियोगिता संचालन गर्न आवश्यक भएकाेले विगतका वर्षहरुमा जस्तै याे वर्ष पनि उक्त भलिवल प्रतियाेगिता संचालन गरेकाे कार्यक्रम अध्यक्ष तथा भूतपूर्व विद्यार्थी समाज मालारानी ५ बागीका अध्यक्ष नारायण प्रसाद भुसालले बताएका छन् । उनले भने, ‘शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बढाउन विद्यार्थीले यस्तै प्रतियोगिताबाट अवसर पाउँछन । विद्यार्थी भित्र लुकेको क्षमता बाहिर ल्याउनका लागि र पछिल्लो समयमा जिल्लाकाे मालारानीमा भलिबल लगायत अन्य खेलको क्रेज निकै नै बढि रहेकाेले समाजले प्रतियोगिता आयोजना गरिएको हो ।’
कार्यक्रम भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष नारायण प्रसाद भुसालकाे अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर खड्का उज्वलकाे प्रमुख आतिथ्यता, निर्वाचित वडा अध्यक्ष तुल्सीराम मिश्र, प्रधानाध्यापक मान बहादुर पाण्डे, सहायक प्र.अ. तारा प्रसाद भुसाल, भूतपूर्व विद्यार्थी समाज निवर्तमान अध्यक्ष गणेश खनाल, पुर्वअध्यक्ष गंगा पन्थी पुर्व निर्वाचित वडा सदस्य डाल बहादुर चाैहान, भूपू विद्यार्थी समाजका सदस्य तथा खेल संयाेजक युवराज खनाल लगायतकाे आतिथ्यता रहेकाे थियाे । साथै भलिबल प्रतियाेगिता सम्पन्न बनाउनकाे लागि आर्थिक सहयाेग गर्ने पुर्वविद्यार्थी तथा समाजसेवी व्यक्तिहरुलाई टिका र कदरपत्रले सम्मान गरिएकाे हाे । त्यस्तै कार्यक्रमकाे अवसरमा वार्षिक परीक्षामा विद्यालय उत्कृष्ट, SEE परीक्षा २०८१ मा धेरै जिपिए प्राप्त गर्ने विद्यार्थी, छात्रा दलित तर्फ उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत नगद सहित प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । कार्यक्रम भूतपूर्व विद्यार्थी समाजका सचिव नवीन के.सी.काे संचालन तथा पदाधिकारीहरुकाे व्यवस्थापनमा समापन भएकाे हाे ।

























