कुशल दर्लामी बाँके — बैजनाथ गाउँपालिका–२ मा लामो समयदेखि भूमिहीन तथा अव्यवस्थित बसोबास गर्दै आएका दलित, सुकुम्बासी र अन्य समुदायका बासिन्दालाई निस्सा वितरण सुरु गरिएको छ। गाउँपालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगको मार्गनिर्देशनअनुसार अभिलेखिकरण प्रक्रिया पूरा गरेपछि औपचारिक रूपमा वितरण कार्यक्रमको शुभारम्भ गरेको हो।
गाउँपालिकाको २ नम्बर वडा कार्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, र वडा अध्यक्ष राजु रुचाल सहित अन्य जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष शाहीले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने यो अभियानलाई ऐतिहासिक कदमका रूपमा वर्णन गर्दै बाँकी अभिलेखिकृत व्यक्तिहरूलाई समेत क्रमशः निस्सा वितरण गरिने जानकारी दिनुभयो।
स्थानीय सरकारको तथ्यांक अनुसार, हालसम्म २९९ जना भूमिहीन दलित, ४३३ जना भूमिहीन सुकुम्बासी, र १३३२ जना अव्यवस्थित बसोबासीहरू अभिलेखिकृत भइसकेका छन्। तीमध्ये प्राथमिकताका आधारमा निस्सा वितरण सुरु गरिएको हो।
निस्सा वितरण कार्यक्रम नेपालको संविधान २०७२, भूमि ऐन २०२१ र भूमि व्यवस्थापन निर्देशिका २०७५ को प्रावधानअनुसार पारदर्शी एवं न्यायसंगत ढंगले सञ्चालन गरिएको जनाइएको छ।
यस कार्यक्रमबाट वर्षौंदेखि सरकारी वा अव्यवस्थित भू–भागमा बसोबास गर्दै आएका नागरिकहरूलाई स्थायी बसोबासको अधिकार प्राप्त भएको छ। स्थानीय बासिन्दाहरूले निस्सा प्राप्तिसँगै आफूहरू कानुनी रूपमा जग्गाधनी भएको अनुभव गरेको प्रतिक्रिया दिएका छन्।
गाउँपालिकाले आगामी दिनमा बाँकी लाभग्राहीहरूलाई समेत समेट्दै पूर्ण रूपमा व्यवस्थापनसहितको निस्सा वितरण प्रक्रिया अगाडि बढाउने जनाएको छ।