हृदय भुसाल अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित आरिचौर खेल मैदानमा सञ्चालन भइरहेको खुला क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन हिजो विशेष कार्यक्रमका बीच सम्पन्न भएको थियो ।
आज हुने खेलमा मुनलाइट युवा क्लब र लालिगुराँस युवा क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोस्रो खेल सितगंगा र एनसीसी पाण्डाडाबीच हुनेछ भने तेस्रो खेलमा मालारानी टिम र धौलागिरी टिम आमनेसामने हुनेछन् । आजको चौथो खेल गौचौर र सलिन्धाराबीच हुने प्रतियोगिताका आयोजक टिमका आर्थिक संयोजक ऋषिकेश आलेले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो दिनदेखि खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ । विभिन्न क्षेत्रका टोलीहरूको सहभागिताले प्रतियोगितामा थप आकर्षण बढाउनुका साथै खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । खेलकुदमार्फत युवाबीच आपसी एकता, सद्भाव र सहकार्य बढाउनुका साथै धन्चौर क्षेत्रको पहिचान विस्तार गर्न प्रतियोगिताले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैयाँ र उपविजेता टोलीले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । धन्चौर क्षेत्रमा ठूलो धनराशिको पुरस्कारसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप चलायमान बनाउने विश्वास आयोजकको छ ।
सामाजिक तथा राजनीतिक व्यक्तित्व लिलबहादुर जिसीले आजदेखि प्रतियोगितामा थप आकर्षण र उत्साह थपिने विश्वास व्यक्त गर्दै खेलप्रेमी दर्शकहरूलाई खेल मैदानमा उपस्थित भई खेलको अवलोकन गर्न र मनोरञ्जन लिन आग्रह गर्नुभएको छ ।
प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको खेल संयोजक सुरज पन्थीले बताउनु भयो । मुनलाईट युबा क्लब र धन्चौर युबा समाजको सहकार्यमा आयोजना भएको प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई धन्यवाद दिँदै खेल मैदानमा उपस्थितिका लागि अनुरोध गरिएको क्लबका अध्यक्ष सन्दिप गैरेले बताउनु भयो ।
धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)


























