
- अर्घाखाँचीको भूमिकास्थान–१० धन्चौरमा कात्तिक ११ गतेदेखि एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता हुने भएको छ।
- विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको छ।
- ग्रामीण क्षेत्रका नवप्रतिभाशाली खेलाडीको क्षमता उजागर गर्न र खेलकुदप्रति युवालाई आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको हो।
हृदय भुसाल अर्घाखाँची । भूमिकास्थान नगरपालिका–१० धन्चौरको आरिचौरमा आयोजना हुन लागेको एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको छ।
आगामी कात्तिक ११ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला आयोजकले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा मन्दिरबाट दुवै टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिक भएसँगै प्रतियोगितालाई लिएर खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ।
ट्रफी सार्वजनिक कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्व लिलबहादुर जिसी, खेल आयोजक ऋषिकेश आले, सुरज पन्थी, सन्दीप गैरे, कैलाश गैरे, दिपेश भट्टराई, विष्णु बन्जाडे लगायत आयोजक तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन कात्तिक ११ गते बिहान ११ बजे गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
धन्चौर क्षेत्रमा क्रिकेट खेलको विकास गर्ने, स्थानीय तथा नवप्रतिभाशाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। ग्रामीण क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता उजागर गर्नुका साथै खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताले विभिन्न स्थानका खेलाडीबीच प्रतिस्पर्धा, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन्। प्रतियोगितालाई सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा सहभागी भई खेलको अवलोकन गर्न तथा खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमीलाई आग्रह गरेका छन्।


























