
- अर्घाखाँचीको धन्चौरमा आगामी कात्तिक ११ गतेदेखि एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता हुँदैछ।
- विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- स्थानीय स्तरमा खेल विकास, आपसी सद्भाव र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
हृदय भुसाल अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धन्चौरको आरिचौरमा आगामी कात्तिक ११ गतेदेखि एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको ऋषिकेश आलेले जानकारी दिनुभयो। प्रतियोगितालाई भव्य र ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षसँग समन्वय गरेर काम भइरहेको सुरज पन्थीले बताउनुभयो।
धन्चौरमा पहिलोपटक यति ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको भन्दै स्थानीय युवाहरूमा उत्साह देखिएको छ। प्रतियोगितालाई सफल बनाउन सबै पक्षबाट सकारात्मक सहयोग आवश्यक रहेको दीपेश भट्टराईले बताउनुभयो।
खेलाडीहरूले विभिन्न स्थानमा व्यापक सम्पर्क र समन्वय गरिरहेको उल्लेख गर्दै कैलाश गैरेले प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताका लागि देश तथा विदेशबाट समेत साथ र सहयोग प्राप्त भइरहेको जनाइएको छ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवाहरूको खेलकुदप्रतिको आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता कायम गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामार्फत धन्चौर क्षेत्रको पहिचान विस्तार हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको आयोजक टिमका अरुण घमले बताउनु भयो ।


























