
काठमाण्डौ – सिन्धुपाल्चोक भूकम्पको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ । आज बिहान सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।
कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै एक ठाउँमा सुक्खा पहिरो झरे पनि प्रहरीले बिहानै पन्छाइसकेको छ । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।
यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ ।