काठमाण्डौ – निर्वाचन आयुक्तमा सिफारिस विवादास्पद कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले आज निर्णय गर्दैछ । प्रधानमाथि यौन शोषणको आरोप लागेको र यसबारेको मुद्दामा मिलापत्र गरेको प्रमाणसमेत भएकाले निर्वाचन आयोगको आयुक्त बनाउन योग्य नभएको सांसदहरुको राय छ ।
पाँच दिनअघि प्रधानको सुनुवाइ गरेको समितिले शीर्ष तहको परामर्श लिने भन्दै निर्णय गरेको थिएन । सुनुवाइ समितिका धेरै सदस्यहरू यौन शोषण मुद्दा पैसा दिएर मिलापत्र गरेका प्रधानको उच्च नैतिक चरित्र नभएको र प्रधानले दिएको जवाफ समेत चित्तबुझ्दो नभएकाले निर्वाचन आयुक्तमा सिफारिस गर्न नहुने पक्षमा छन् ।
यसबारे सदस्यहरूले आ–आफ्ना दलभित्र परामर्श गरेका छन् । समिति सदस्यहरूले विवेक पुर्याएर परिपक्व निर्णय हुने बताएका छन् । नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानले आफ्नै कार्यालयमा कार्यरत महिलालाई प्रलोभन दिएर पटक–पटक यौन शोषण गरेको र पैसा दिएर मिलापत्र गरेको भन्दै पीडितबाट समितिमा उजुरी परेको थियो ।
पीडितसहित चारवटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो । गएको असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो ।