प्रेम
# बल राना
मालारानी -६
जब देख्छु जून
तब तिम्रो सम्झना आउँछ
सम्झनाले मात्र पनि
अझ मुटु जोड जोडले धड्किन मद्दत गर्दछ
नत्र मुटु शिथिल प्राय: थियो
जब नाम सुन्छु कतैबाट
कसैसँग हुबहु मिल्न जान्छ
तब मेरो अनुहार अझ उज्यालो हुन्छ
नत्र अनुहार निभ्न थालेको दियो जस्तै थियो ।
दिनभरको टटन्लापुर घामले
अैलाएको प्याउली फूल जस्तै थियो मन
अकस्मात् तिम्रो तस्वीर देखें
बिहान तरोताजा भएको कोपिला जस्तै भएँ ।
जब चर्चा हुन्छ जवानीको
डाँडामा हावाले हानिरहेको पोथ्राजस्तै हुन्छु
विगत सम्झेर रोमाञ्चित हुन्छु
त्यतिकै उत्साहित हुन्छु
पुरानै प्रेमस्थलमा भेटौं लाग्छ
मन त रप्तारमा दौडिहाल्छ
जब गुलाफ कतै फुलेको देख्छु
हत्पत्त टिप्छु
देवताको थपना मानेजस्तै कुनै ढुङ्गालाई
मेरो घरमा त्यस्तो चीज छ
त्यो तिम्रो नामको मान्छु
त्यहीँ चढाउँछु फूल
चढाउँछु मन
त्यो प्रतिमामा
तब मेरो प्राण प्रस्तिष्ठा हुन्छ
त्यो मन्त्र हो मेरो प्रेम