
- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
- अनियन्त्रित भई बस १८० फिट तल खस्दा २७ जना यात्रु घाइते भएका छन्।
- घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हृदय भुसाल अर्घाखाँची, वैशाख २९ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ कोलडाँडा स्थित भित्री सडक खण्डमा सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ग १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
मगलबार दिउँसो करिब १:३० बजे भएको उक्त दुर्घटनामा बस अनियन्त्रित भई करिब १८० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुर्घटनामा चालकसहित ३१ जना सवार रहेका थिए।
दुर्घटनामा पर्वत मोदी गाउँपालिका–५ निवासी ७० वर्षीय आमा पौडेल, ए.ऐ. बस्ने ५० वर्षीया कौशिला रेग्मी, कास्की पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत र सोही स्थानका ७८ वर्षीया बिन्दु कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा बिष्णु केसी, दिपा पौडेल, देवबहादुर अबेली, राधिका रेग्मी, मिना कुँवर, लिला बहादुर कुँवर, तारा बहादुर रेग्मी, प्रदिप पौडेल, दुर्गा बहादुर पौडेल, विशाल पौडेल, हेम कुँवर, बाडुले पौडेल, उजेली कुमारी क्षेत्री, प्रताप क्षेत्री, पदम बहादुर कुँवर, रोहित कुँवर, देवी कुँवर, हरिमाया कुँवर, लाल बहादुर रेग्मी, सम्राट कुँवर, दिया सुबेदी, सम्राज्ञी कुँवर, सागर कुँवर, पवित्रा जिसी, पवित्रा कुमारी पौडेल र सिता कुँवर रहेका छन्।
घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।



























